२५ जेठ २०८३, सोमबार

नेपालले होबर्ट हरिकन्सलाई दियो १८१ रनको लक्ष्य

भदौ ३, २०८२
काठमाडौं
नेपालले होबर्ट हरिकन्सलाई दियो १८१ रनको लक्ष्य

अस्ट्रेलियामा जारी टप इन्ड सिरिज क्रिकेट प्रतियोगिताको आफ्नो चौथो खेलमा नेपाली टोलीले मंगलबार होबर्ट हरिकन्स एकेडेमीलाई जितका लागि एक सय ८१ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८० रन बनाएको हो । जारी शृंखलामा नेपाली टोलीले बनाएको यो नै सर्वाधिक रन पनि हो ।

नेपाली टोलीले पालीको गतिलो शुरूआत गरेको थियो । ओपनर ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आसिफ शेखले ४९ रनको साझेदारी गरे । कुशल भुर्तेलले २७ रन बनाए । उनले २० बलको सामना गरी चार चौका पनि हिर्काए ।

विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले पनि टोलीको खातामा २९ रन थपे । उनले २८ बलको सामना गरी दुई चौका हिर्काए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका भीम सार्कीले पनि १८ बलमा दुई चौकाको मद्दतले १८ रन बटुले ।

कप्तान रोहित पौडेल भने नौ रन बनाउँदै पेभेलियन फर्किए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ शेखले टोलीको खातामा ३३ रन थपे । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका उनले २६ बलमा तीन चौका पनि हिर्काए ।

कुशल मल्ल भने ६ रनभन्दा अगाडि बढ्न सकेनन् । उनी आउट भएपछि क्रिज समाल्न आएका लोकेश बमले टोलीका लागि आक्रमक पाली खेले । उनले केवल ११ बलमा एक छक्का र तीन चौकाको मद्दतले अविजित २५ रनको योगदान गरे । करण केसी एक रन बनाउँदै आउट भए । नन्दन यादव एक रनमा अविजित रहे । नेपाली टोलीले अतिरिक्त रूपमा पनि ३१ रन पायो ।

होबर्ट हरिकन्स एकेडेमीका बलर निवेथन राधाकृष्णनले दुई विकेट लिए । रफ म्याकमिलनले पनि दुई विकेट हात पारे । मार्कस बिन, ब्राड्ली होप र गेब बेलले पनि एक–एक विकेट हात पारे । मार्कस बिन महंगो सावित भए । उनले चार ओभरमा ४३ रन खर्चिएका थिए ।

जारी प्रतियोगितामा नेपालले हालसम्म एक खेल पनि जित्न सकेको छैन । नेपाली टोलीले लगातार तीन हार भोगिसकेको छ । तीनवटै खेलमा नेपाली टोलीको ब्याटिङमा समस्या देखिएको छ । त्यसैले मंगलबारको खेलमा नेपाली टोली पहिलो जितको खोजिमा छ ।

नेपाली टोली आफ्नो पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा पनि नेपाली टोली बंगलादेशको ‘ए’ टोलीसँग ३२ रनले पराजित भएको थियो । तेस्रो खेलमा नेपाली टोली मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्