
एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा पनि थाइल्यान्डकी खेलाडी वारन्या श्रीलाउङले ललितपुर क्विन्सकै तर्फबाट खेल्ने भएकी छन् । वारन्यालाई बुधबार बिहान क्लबमा अनुबन्ध गरिएको ललितपुर क्विन्सले जनाएको छ ।
प्रतियोगिताको पहिलो संस्करणमा ललितपुर क्विन्सलाई उपविजेता बनाउन उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । एभरेष्ट महिला भलिबलको लागिको दोस्रो संस्करणमा सहभागी हुन वारन्या अर्को साता नेपाल आउने पनि क्लबले जनाएको छ ।
ललितपुरले यसअघि नै थाइल्यान्डकै सेटर पट्राथिप सान्त्रकुनलाई टोलीमा अनुबन्ध गरिसकेको छ । ललितपुर क्विन्स दोस्रो संस्करणमा घरेलु भलिबलमा सफल प्रशिक्षकमध्येका एक उत्सव खड्काको नेतृत्वमा रहेको छ ।
ललितपुर क्विन्सको मार्की खेलाडी तथा कप्तान सलिना श्रेष्ठ हुन् । क्लबले अक्सनबाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राई, सलिना बुढामगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई खरिद गरेको थियो । आयशा शाक्य ललितपुर क्विन्सकी सद्भावनादूत हुन् ।
वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण पोखरामा आयोजना हुनेछ । प्रतियोगिता भदौ २० देखि २८ गतेसम्म पोखराको बहुउद्देश्यीय कभर्ड हलमा आयोजना हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टोलीबीच उपाधिका लागि भिडन्त हुनेछ । प्रतियोगितामा ५४ स्वदेशी र १८ जना विदेशी खेलाडीको सहभागिता रहने बताइएको छ । स्वदेशी खेलाडीका लागि यसअघि नै अक्सन भइसकेको छ । सहभागी टोलीले विदेशी खेलाडी अनुबन्धको प्रक्रिया पनि अघि बढाइसकेका छन् ।