१० साउन २०८३, आइतबार

भारतसँग घरेलु मैदानमा भोगेको नमीठो हारको बदला लिने धुनमा नेपाल

भदौ ४, २०८२
काठमाडौं
भारतसँग घरेलु मैदानमा भोगेको नमीठो हारको बदला लिने धुनमा नेपाल

साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा बुधबार नेपाली टोलीले बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । खेल भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा दिउँसो १४:४५ बजे शुरू हुनेछ ।

साफ यू-१७ च्याम्पियनसिपको यो सातौं संस्करण हो । प्रतियोगितामा चार टोली सहभागी छन् । नेपाल, भारत, बंगलादेश र आयोजक भुटानलाई एउटै समूहमा राखिएको छ । 

चारवटै टोलीले एकअर्कासँग दुई–दुई खेल खेल्नेछन् । त्यसपछि, अंक तालिकाको पहिलो स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

अघिल्लो संस्करण सन् २०२४ मा नेपालमै आयोजना भएको थियो । तर, त्यतिबेला यू-१६ टोलीले प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला नेपाली टोली भारतसँग घरेलु मैदानमै १०–० गोलको विशाल अन्तरले पराजित भएको थियो ।

उक्त संस्करणमा नेपाली टोली समूहगत चरणबाटै बाहिरिएको थियो । नेपाली टोलीले तीनमध्ये एक खेलमात्र जित्न सकेको थियो । उक्त संस्करणको उपाधि बंगलादेशले जितेको थियो । फाइनलमा बंगलादेशले भारतलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हराएको थियो ।

त्यसअघि, सन् २०२३ मा बंगलादेशको ढाकामा यू–१७ महिला च्याम्पियनसिप आयोजना भएको थियो । त्यतिबेला पनि नेपाल र भारतबीच उद्घाटन खेल खेलिएको थियो । त्यो खेलमा पनि भारतले नेपाली टोलीलाई ४–१ गोलले हराएको थियो ।

नेपाली टोलीका प्रशिक्षक चेतनारायण श्रेष्ठ आफ्नो टोलीको मनोबल उच्च रहेको बताउँछन् । उनी भन्छन्, ‘टोलीमा अघिल्लो संस्करण खेलेका खेलाडीको बाहुल्य छ । हामीले पोजिसन अनुसार खेलाडीको प्रदर्शनलाई निखारेका छौं । साफ च्याम्पियनसिपको मुख्य उद्देश्य भनेको खेलाडीको क्षमता विकास पनि हो । यस्ता प्रतियोगिताबाट खेलाडीहरूले सिक्ने मौका पाउँछन् ।’

null

आफूहरूले प्रतियोगिताका लागि राम्रो तयारी गरेको पनि उनले बताएका छन् । ‘हामीले यसपटक प्रतियोगिताका लागि निकै राम्रो तयारी गरेका छौं । हाम्रो लक्ष्य भनेको उपाधि जित्नु नै हो,’ प्रमुख प्रशिक्षक श्रेष्ठ भन्छन् ।

भारत बलियो प्रतिद्वन्द्वी भए पनि अघिल्लो संस्करणमा गरेका गल्तिहरूलाई यसपटक सच्याएको उनी बताउँछन् । ‘पहिलो खेल भारतसँग छ । भारत बलियो टोली हो । अघिल्लो वर्ष यू–१६ मा हामी घरेलु भूमिमा पराजित भएका थियौं । बितेको संस्करणमा गरेका गल्तीलाई हामीले सच्याएका छौं । हाम्रा खेलाडीले पाएको अवसरलाई सदुपयोग गर्ने हो भने हामी भारतलाई हराउन सक्छौं,’ उनी भन्छन् ।

नेपाली टोलीकी कप्तान भूमिका बुढाथोकी पनि विगतको तुलनामा टोलीमा निकै सुधार आएको दाबी गर्छिन् । ‘टोली सन्तुलित छ । खेलाडीमा जितको भावना पनि बलियो छ । सबै आ–आफ्नो पोजिसनमा राम्रा छन् । नेपाली समर्थकहरूलाई साथ र हौसला दिनुहुन अनुरोध गर्छौं,’ उनी भन्छिन् ।

प्रतियोगितामा नेपाली टोलीले आफ्नो दोस्रो खेल शुक्रबार आयोजक भुटानसँग खेल्नेछ । नेपाली टोलीले तेस्रो खेल अगस्ट २४ तारिखमा बंगलादेशसँग, चौथो खेल २७ तारिखमा बंगलादेशसँग, पाँचौं खेल २९ तारिखमा भारतसँग र छैटौं खेल ३१ तारिखमा भुटानसँग खेल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्