०२ असार २०८३, मंगलबार

समानता, सशक्तिकरण र सम्भावनाका विषयमा महिला प्रहरीलाई प्रोत्साहित गर्नुपर्छ- गृहमन्त्री लेखक

भदौ ५, २०८२
काठमाडौं
समानता, सशक्तिकरण र सम्भावनाका विषयमा महिला प्रहरीलाई प्रोत्साहित गर्नुपर्छ- गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले समानता, सशक्तिकरण र सम्भावनाका विषयमा महिला प्रहरीलाई विशेष ढंगले प्रोत्साहित गर्नुपर्नेमा जोड दिएका छन् । 

बिहीबार प्रहरी प्रधान कार्यालयमा प्रथम महिला प्रहरी सम्मेलन–२०८२ उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले सबै सम्भावनामा महिला प्रहरी कर्मचारीलाई समाहित गर्नुपर्ने बताए । 

‘सबै सम्भावनामा महिलाहरूलाई समाहित गर्न तीन ‘स’ (समानता, सशक्तिकरण र सम्भावना)को नीति अवलम्बन गरिनुपर्छ’, गृहमन्त्री लेखकले भने, ‘मुद्दा र नीतिहरूमा समावेश गर्ने, सशक्तिकरणको अभियान सञ्चालन गर्नुपर्ने र सबै सम्भावनामा महिलालाई समाहित गरिनुपर्छ । सम्भावना अवसर हो, क्षमता प्रर्दशन गर्ने ठाउँ हो । अवसरको प्रदानता गर्ने, यी सबै कुरामा जानुपर्छ, त्यो ढंगले अगाडि बढ्न जरुरी छ ।’

प्रहरीमा १२ प्रतिशत महिला कर्मचारी रहेको भन्दै उनले २०६२/०६३ को दोस्रो जनआन्दोलनपछि प्रहरीमा महिलाको उपस्थिति बढेको बताए । त्यस्तै, मन्त्री लेखकले नेपाल प्रहरीमा भर्ना प्रक्रियामा २० प्रतिशत महिला आरक्षणको व्यवस्था रहेको उल्लेख गर्दै परिणाममा २० प्रतिशत महिलाको उपस्थिति नेपाल प्रहरीमा पुर्‍याउनुपर्ने बताए । 

‘नेपाल प्रहरीमा भर्ना प्रक्रियामा २० प्रतिशत महिला आरक्षणको व्यवस्था छ । १२ प्रतिशत मात्रै उपस्थिति छ’, उनले भने, ‘हामीले आरक्षणमा २० प्रतिशत होइन परिणाममा २० प्रतिशत महिलाहरूको उपस्थिति नेपाल प्रहरीमा पुर्‍याउनुपर्छ । यो कुरामा हामी अगाडि बढौं । प्रहरी संगठनले २० प्रतिशतको आरक्षणलाई परिणाममा २० प्रतिशत बनाउन गृहकार्य गर्न आग्रह छ ।’

नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई देशका सबै जातजाति, लिङ्ग र भूगोलको बनाइने र महिलाहरूको आरक्षणलाई थप गरिने उनको भनाइ छ ।

‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको नीतिगत र कानूनी सुधार मेरो पहिलो प्राथमिकता थियो, त्यसमा नेपाल प्रहरीको विधेयक संघीय संसद्‌मा पेस गरेर संसद्को राज्य व्यवस्था समितिमा छलफल भइरहेको थियो’, उनले भने, ‘समितिमा केही जटिलता आउँदा प्रहरी कानून रोकिएको अवस्था छ ।’

यही सदनबाट प्रहरी सम्बन्धी कानून पारित गर्ने लक्ष्य रहे पनि मस्यौदा राज्य व्यवस्था समितिमै रोकिएको लेखकले बताए । गृहमन्त्री लेखकले स्थापनाको ७४ वर्षपछि महिला प्रहरी सम्मेलन गरेर प्रहरीले एउटा इतिहास थपेको उल्लेख गरे । 

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा देशभरबाट दुई सय भन्दा बढी महिला प्रहरी कर्मचारी सहभागी छन् ।

salt training

कमेन्ट गर्नुहोस्