०२ साउन २०८३, शनिबार

लगातार दुई खेल जितेको नेपाल पाकिस्तानी टोलीसँग भिड्दै

भदौ ६, २०८२
काठमाडौं
लगातार दुई खेल जितेको नेपाल पाकिस्तानी टोलीसँग भिड्दै
फाइल तस्वीर

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा आज नेपालले पाकिस्तानको सामना गर्दैछ। सिरिजअन्तर्गत समूह चरणको अन्तिम अर्थात् छैटौं खेलमा नेपालले पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल नेपाली समयअनुसार शुक्रबार दिउँसो ३:१५ बजे शुरू हुनेछ ।

जारी शृंखलामा नेपालले यसअघि लगातार दुई खेल जितेको छ । शुरूका तीन खेल हारेको नेपालले चौथो खेलमा होबर्ट हरिकेन्सलाई र पाँचौ खेलमा मेलबर्न रेनेगेड्स एकेडेमी हराएको थियो ।

नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।

प्रतियोगितामा ११ वटा टोली सहभागी छन् । सहभागी हरेक टोलीले लिग चरणमा छ वटा खेल खेल्नेछन् । टप इण्ड टी–२० शृङ्खलापछि अस्ट्रेलियामै नेपालले अभ्यास खेल पनि खेल्नेछ । शृंखलामा नेपाली टोलीले कुल पाँच खेल खेल्नेछ । 

दोस्रो शृंखलामा नेपाली टोलीले क्रिकेट एसीटीसँग अगस्ट २६ तारिखमा पहिलो खेल खेल्नेछ । सोही दिन नेपाली टोलीले आफ्नो दोस्रो खेल पनि क्रिकेट एसीटीसँगै खेल्नेछ ।

अगस्त २८ तारिखमा नेपाली टोलीले साउथ अस्ट्रेलियासँग तेस्रो खेल खेल्नेछ । सोही दिन नेपालले आफ्नो चौथो खेल पनि साउथ अस्ट्रेलियासँगै खेल्नेछ । नेपालले आफ्नो पाँचौं खेल ३० तारिखमा साउथ अस्ट्रेलियासँगै खेल्नेछ ।

नेपाली टोलीले यी दुवै शृंखला आगामी टी–२० विश्वकपको छनोट प्रतियोगिताको तयारीका क्रममा खेल्न लागेको हो । एसिया तथा प्रशान्त क्षेत्रको अन्तिम चरणको विश्वकप छनोट प्रतियोगिता आगामी अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा आयोजना हुँदैछ ।

छनोट प्रतियोगितामा नेपालसहित नौ टोली सहभागी हुनेछन् । नेपाल, जापान र कुवेत प्रतियोगिताको समूह ‘बी’ मा छन् । मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) समूह ‘ए’ मा छन् । समूह ‘सी’ मा भने आयोजक ओमान, पपुवा न्यू गिनी र समाओ रहेका छन् ।

अन्तिम चरणको उक्त छनोट प्रतियोगिताबाट तीनवटा टोली आगामी आईसीसी टी–२० विश्वकपमा पुग्नेछन् । आगामी टी–२० विश्वकप सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्