०७ असार २०८३, आइतबार

लुम्बिनीमा रासायनिक मल वितरणको नयाँ कोटा

भदौ ६, २०८२
बुटवल
लुम्बिनीमा रासायनिक मल वितरणको नयाँ कोटा

लुम्बिनी प्रदेशमा कृषकलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउने व्यवस्थाअन्तर्गत हाललाई प्राप्त भएको डीएपी मलको नयाँ कोटा निर्धारण गरिएको छ । प्रदेश सरकारले करिब ११ हजार ४४ मेट्रिक टन डीएपी मल वितरण गर्ने कोटा परिमाण तोकेको हो ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतको योजना तथा अनुगमन महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार भदौ ५ गते बसेको प्रदेश मल वितरण व्यवस्थापन समितिको निर्णयले कृषि सामग्री कम्पनी लिमिटेडमार्फत् ५ हजार ६ सय ९९.७ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत् ५ हजार ३ सय ४५.०३ मेट्रिक टन मल वितरण गर्ने व्यवस्था मिलाएको हो । 

दुवै निकायले मलको परिमाण अनुसार वितरणका लागि कोटा निर्धारण गर्न अनुरोध सहितको पत्र मन्त्रालयमा पेश गरेका थिए । सोही आधारमा अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२ अनुसार १०६ स्थानीय तहका लागि मल वितरणको कोटा परिमाण निर्धारण गरिएको जनाइएको छ । चालू आर्थिक बर्ष २०८२/०८३ को लागि लुम्बिनी प्रदेशलाई ४२ हजार ७ सय ४७.६ मेट्रिक टन अर्थात २१ दशमलव ११ प्रतिशत डीएपी मलको कोटा परिमाण तोकिएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा प्रदेशमा २८ हजार ५८.६९ मेट्रिक टन डीएपी मल वितरण गरिएको थियो । हाललाई प्राप्त भएको मल वितरणका लागि स्थानीय तहअनुसार कोटा निर्धारण गरिएको र डीएपी मल पुनः प्राप्त हुने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका बाली संरक्षण निर्देशक घनश्याम चौधरीले जानकारी दिए ।

मन्त्रालयले वितरण प्रक्रिया पारदर्शी र व्यवस्थित बनाउन कृषि विकास निर्देशनालय रुपन्देही साथै कृषि ज्ञान केन्द्र र एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयलाई समन्वय र अनुगमनको जिम्मा दिएको छ ।
वरिष्ठ कृषि प्रसार अधिकृत विनोद सुनारका अनुसार वितरण प्रणालीलाई कडाइका साथ कार्यान्वयन गरिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्