
मोरङको मिक्लाजुङ गाउँपालिकास्थित मिक्लाजुङ अस्पताललाई व्यवस्थित ल्याब उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार मधुमल्ला बाल अस्पतालको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग सम्झौता भएका एक सय ल्याबमध्ये एक ल्याब मिक्लाजुङ अस्पताललाई उपलब्ध गराइने घोषणा गरे ।
उनले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार सरकारको प्राथमिकता भएको उल्लेख गर्दै मधुमल्ला अस्पतालले दिइरहेको गुणस्तरीय सेवाको प्रशंसा गरे ।
सो अवसरमा गाउँपालिका अध्यक्ष बबिकुमार राईले अस्पतालमा दन्त उपचार सेवा शीघ्र शुरू हुने जानकारी दिए । उपाध्यक्ष दिनेश पौडेलले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर निरन्तर काम भइरहेको प्रतिबद्धता जनाए ।
कार्यक्रममा मधुमल्ला अस्पतालका लागि जग्गा प्रदान गर्ने दाताहरूलाई सम्मान गरिएको थियो । संघीय मन्त्रालय र गाउँपालिकाको संयुक्त लगानीमा करिब १ करोड ९८ लाख ६१ हजार २ सय ८३ रूपैयाँ लागतमा बालमैत्री अस्पताल भवन निर्माण सम्पन्न भएको हो ।