२८ जेठ २०८३, बिहीबार
प्योङयाङको शक्ति प्रदर्शन

उत्तर कोरियाले परीक्षण गर्‍यो नयाँ क्षेप्यास्त्र, रूसी प्रविधि प्रयोग भएको दक्षिणको चिन्ता

भदौ ८, २०८२
काठमाडौं
उत्तर कोरियाले परीक्षण गर्‍यो नयाँ क्षेप्यास्त्र, रूसी प्रविधि प्रयोग भएको दक्षिणको चिन्ता

उत्तर कोरियाले दुई नयाँ हवाई प्रतिरक्षा क्षेप्यास्त्र परीक्षण गरेको छ । 

उत्तर कोरियाली राज्य सञ्चालित मिडियाले देशका नेता किम जोङ उनको उपस्थितिमा दुई नयाँ हवाई प्रतिरक्षा क्षेप्यास्त्र परीक्षण गरिएको जनाएको छ ।

कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए)का अनुसार ती हतियारमा उत्तम लडाइँ क्षमता रहेको र विशेष प्रविधि प्रयोग भएको छ । शनिबार सम्पन्न गरिएको परीक्षणले ती दुई प्रकारका क्षेप्यास्त्रका प्रविधिक विशेषता विभिन्न हवाई लक्ष्य-ड्रोन र क्रूज मिसाइलसमेत नष्ट गर्न उपयुक्त भएको प्रमाणित गरेको केसीएनएले जनाएको छ ।

यो परीक्षण दक्षिण कोरियाले मंगलबार असैन्यीकृत क्षेत्र पार गरेर आएको उत्तर कोरियाली सैनिकमाथि चेतावनी स्वरूप गोली प्रहार गरेको केही घण्टापछि भएको हो । योनहाप न्यूज एजेन्सीका अनुसार करिब ३० जना उत्तर कोरियाली सैनिकले असैन्यीकृत क्षेत्रमा केहीबेर प्रवेश गरेका थिए ।

यस घटनापछि प्योङयाङले दक्षिण कोरियामाथि जानाजानी उक्साहट गरेको आरोप लगाएको छ ।

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिका सोमबारदेखि सो क्षेत्रमा संयुक्त सैन्य अभ्यास गर्दै आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सोमबार वाशिङ्टनमा हुने शिखर सम्मेलनमा दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युंगसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

हालै निर्वाचित राष्ट्रपति लीले चुनावी अभियानमै उत्तर–दक्षिण सम्बन्ध सुधार गर्ने वाचा गरेका थिए । तर, किम जोङ उनकी बहिनीले सो प्रयासलाई अस्वीकार गरेकी छन् । 

यसअघि नै किमले संयुक्त सैन्य अभ्यासलाई ‘सबैभन्दा शत्रुतापूर्ण र उत्तेजनापूर्ण’ भन्दै कडा शब्दमा आलोचना गरेका थिए । उनले आणविक हतियार भण्डार अझ विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसै वर्ष जनवरीमा उत्तर कोरियाले नयाँ हाइपरसोनिक वारहेडयुक्त मध्यम दूरीको क्षेप्यास्त्र परीक्षण गरिएको दाबी गरेको थियो । प्योङयाङले सो क्षेप्यास्त्रले प्रशान्त क्षेत्रमा ‘प्रतिस्पर्धीहरूलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने’ बताएको थियो ।

दक्षिण कोरियाली अधिकारीहरूले उत्तर कोरियाले युक्रेन युद्धमा सैनिक पठाएको बदलामा रुसबाट क्षेप्यास्त्र प्रविधि पाएको हुनसक्ने चिन्ता व्यक्त गर्दै आएका छन्। 

पूर्व राष्ट्रपति युन सुक योलका राष्ट्रिय सुरक्षा सल्लाहकार सिन वोनसिकले गत वर्ष नै मस्कोले प्योङयाङलाई वायु प्रतिरक्षा प्रणाली बलियो बनाउन क्षेप्यास्त्र र अन्य उपकरण उपलब्ध गराएको बताएका थिए ।

हालै गरिएको क्षेप्यास्त्र परीक्षणमा पनि रूसी प्रविधि प्रयोग भएको हो कि होइन भन्ने भने स्पष्ट छैन ।

उत्तर कोरिया दशकौंदेखि किम परिवारको कठोर निरंकुश शासनमा रहँदै आएको छ । १९५३ मा कोरियाली युद्ध अन्त्य भए पनि दुवै पक्षबीच शान्ति सम्झौता नहुनाले दक्षिण र उत्तर कोरिया प्राविधिक रूपमा अझै युद्धरत मानिन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्