
महाधिवेशनको मिति तत्काल तोकेर निष्पक्ष र विश्वासिलो वातावरणमा सम्पन्न गर्नका लागि पहल लिन आग्रह गर्दै राप्रपाका असन्तुष्ट नेताहरुले तीन पूर्वअध्यक्षहरुसँग भेटवार्ता गरेका छन् ।
नेताहरुका अनुसार विधानको व्यवस्था सामुहिक नेतृत्वमा आधारित भए पनि अध्यक्ष राजेन्द्र लिङ्देनले एकल नेतृत्वको शैली अपनाएको आरोप छ, जसले पार्टीभित्र विवाद, संकट र असन्तोष उत्पन्न गरेको छ ।
यसै विषयमा संस्थापक अध्यक्ष लोकन्द्रबहादुर चन्द तथा पूर्वअध्यक्षद्वय पशुपतिशम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीसँग असन्तुष्ट नेताहरुले क्रमशः बिहीबार, शुक्रबार र शनिबार भेटवार्ता गरेका हुन् । भेटमा नेता विक्रम पाण्डे, डा. धवलशम्सेर राणा, विक्रम थापा, मुकुन्दश्याम गिरी, कुन्ति शाही, सगुन सुन्दर लावती लगायत सहभागी थिए ।
यसअघि बुधबार नै असन्तुष्ट नेताहरुले अध्यक्ष लिङ्देनलाई लिखित ध्यानाकर्षण पत्र बुझाउँदै विधानविपरीत गरिएका कारवाही फिर्ता लिन, मनलागी निर्णय रोक्न र महाधिवेशनलाई प्रभावित नगरी समयमै सम्पन्न गर्न आग्रह गरेका थिए ।
तीन पूर्वअध्यक्षहरुसँगको भेटमा सकारात्मक आश्वासन प्राप्त भएको नेताहरूले बताएका छन् । नेता सगुन सुन्दर लावतीका अनुसार, पूर्वअध्यक्षहरुले समस्या समाधानका लागि अभिभावकीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।