२६ असार २०८३, शुक्रबार

जीर्ण बन्यो पाटन दरबारको ऐतिहासिक घण्ट

भदौ ८, २०८२
ललितपुर
जीर्ण बन्यो पाटन दरबारको ऐतिहासिक घण्ट
पाटन दरबार स्क्वायर क्षेत्र ।

विश्व सम्पदा सूचीमा सूचीकृत रहेको ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन समयमा निर्माण गरिएको एउटा ऐतिहासिक घण्ट अवस्थित छ । २०७२ को भूकम्पले क्षति पुर्‍याएको घण्टलाई पुनर्निर्माण नगरिएकाले हाल जीर्ण बन्दै गइरहेको र हाल बजाउनसमेत बन्द गरिएको छ । 

काठमाडौं उपत्यकाका दरबार स्क्वायरमा रहेका घण्टमध्ये पाटन दरबार स्क्वायरको यो घण्ट अरूभन्दा ठूलो मानिन्छ । स्थानीयका अनुसार भूकम्पले क्षति पुर्‍याएपछि यो पूर्वतिर ढल्किएको अवस्थामा छ । 

जीर्ण अवस्थामा अडिएको यो घण्ट जुनसुकै बेला ढल्न सक्ने स्थिति छ । ऐतिहासिक घण्ट जीर्ण अवस्थामा रहेकाले पुनर्निर्माणको माग गर्दै पुरातत्व विभाग र युनेस्कोलाई पत्र बुझाएको पाटन दरबार स्क्वायर टोल सुधार समितिका अध्यक्ष किरणमान प्रधान बताउँछन् । 

उनी भन्छन्, ‘हामीले पुनर्निर्माणका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छौं । अझै कुनै पहल भएको छैन ।’

मल्लकालीन समयमा स्थापना गरिएको उक्त घण्ट १७६९ सालमा निर्माण गरिएको मानिन्छ । २०७२ को भूकम्पका समयमा यो घण्ट नबजेको स्थानीय उपेन्द्रकुमार श्रेष्ठ बताउँछन् ।

विशेषतः हरेक वर्षको दशैँको जमरा राख्ने दिनदेखि दशैँका दिनसम्म यस घण्टा बजाएर पूजाआजा गर्ने गरिन्छ । उनका अनुसार राणाकालीन समयमा पाटन शहरका सबै मानिस सुत्नुपर्छ भन्ने मान्यताअनुसार राति १२:०० बजे यो घण्ट बजाइन्थ्यो । घण्ट बजेपछि राति १२:०० बजेपछि कोही पनि बाहिर निस्कन हुन्नथ्यो । अनि बिहान ४:०० बजे फेरि घण्ट बजाइन्थ्यो, त्यसपछि सबैजना उठेर आआफ्नो काममा लाग्थे ।

घण्टको जगसँगै सटाएर व्यवसाय सञ्चालन गरेका एक स्थानीय व्यवसायीका अनुसार उनका हजुरबुबा १९५८ सालदेखि सो स्थानमा पसल सञ्चालन गर्दै आएका थिए । उनी भन्छन्, ‘एक शताब्दीअघिदेखि व्यवसाय सञ्चालन गर्दै आएका छौं । यो घण्ट भूकम्पका कारण जीर्ण अवस्थामा पुगेको छ । पाटन दरबारका सबै जीर्ण सम्पदा महानगर र पुरातत्व विभागले पुनर्निर्माण गरिसकेको छ ।’

ऐतिहासिक घण्टको जगमा सटाएर कोठा निकालेर स्थानीयले पुस्तौंदेखि व्यापारिक प्रयोजनका लागि प्रयोग गर्दै आएका छन् । ती पसल नहटाइएसम्म ऐतिहासिक घण्टको पुनर्निर्माण सम्भव छैन । यसको संरक्षणका लागि ललितपुर महानगरपालिका, पुरातत्व विभागलगायत सम्बन्धित निकायको ध्यान नपुगेको स्थानीयको गुनासो छ । 

गुठी संस्थान ललितपुरका कार्यालय प्रमुख जितेन्द्र चित्रकारका अनुसार पाटन दरबार क्षेत्रमा केही स्थानीयले पुस्तौंदेखि व्यापार सञ्चालन गर्दै आएका छन् । उनी भन्छन्, ‘व्यापारीले पुस्तौंदेखि व्यापार गर्दै आएको कारण सम्झौताअनुसार हामीलाई व्यापार गर्न पाउनुपर्छ भन्छन् । व्यापारिक प्रयोजनका लागि बनाइएका भवन नहटाइएसम्म ऐतिहासिक घण्ट पुनर्निर्माण गर्न सम्भव छैन ।’

घण्टलाई अहिले नै पुनर्निर्माण नगरिएमा यसको खम्बा ढल्न सक्ने र घण्ट टुटफुट भएमा फेरि ऐतिहासिक सम्पदाको संरक्षण गर्न कठिन हुने अवस्था छ । घण्ट बजाउँदा त्यसको कम्पनका कारण खम्बा ढल्न सक्ने हुँदा विगत तीन वर्षदेखि यो घण्ट बजाइएको छैन ।  

salt training

कमेन्ट गर्नुहोस्