२८ जेठ २०८३, बिहीबार
सरसर्ती २४ घण्टा

यूएईबाट नेपालीको उद्धारदेखि रौतहटमा सुटकेसभित्र शव फेलासम्म

भदौ ८, २०८२
काठमाडौं
यूएईबाट नेपालीको उद्धारदेखि रौतहटमा सुटकेसभित्र शव फेलासम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले भूमि विधेयकको विरोधमा देशव्यापी प्रदर्शन गर्ने भएको छ । 

भूमि सम्बन्धी विधेयक मुलुक र जनताको हितमा नरहेको, भू–माफिया, जग्गा दलालको हित हुने र यसबाट वन जंगल विनाश भई तराईरमधेश मरुभूमिकरण हुने जसपा नेपालको भनाइ छ ।
००००
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पूर्वराष्ट्रपति राजनीतिमा आउनु अशोभनीय विषय भएको बताएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी दाङको जिल्ला प्रतिनिधि परिषद्लाई शनिबार सम्बोधन गर्दै उनले पूर्वराष्ट्रपति राजनीतिमा आउन नहुने बताए ।
००००
पर्साको वीरगन्जमा देखिएको हैजाको संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले स्वास्थ्य टोली खटाएको छ ।

मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको निर्देशनपछि उपचार सेवा थप प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका महाशाखा प्रमुख डा। विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरलाई वीरगन्ज पठाइएको हो ।
००००
ललितपुर महानगरपालिकाले बाढीजन्य प्राकृतिक विपद्को पूर्वजानकारी दिन ‘अर्लि वार्निङ प्रणाली’ जडान गरेको छ ।

महानगरले पालिकाभित्रका दुई ठाउँमा यो प्रणाली जडान गरेको हो । यो प्रणाली जडान गर्ने ललितपुर महानगर पहिलो स्थानीय तह हो । 

वडा नं २८ हरिसिद्धीस्थित कर्मनाशा पुल र वडा नं ४ नख्खु खोला नजिकै यो प्रणाली जडान गरिएको महानगर विपद् व्यवस्थापन शाखाले जनाएको छ ।
००००
महाधिवेशनको मिति तत्काल तोकेर निष्पक्ष र विश्वासिलो वातावरणमा सम्पन्न गर्नका लागि पहल लिन आग्रह गर्दै राप्रपाका असन्तुष्ट नेताहरुले तीन पूर्वअध्यक्षहरुसँग भेटवार्ता गरेका छन् ।

नेताहरूका अनुसार विधानको व्यवस्था सामुहिक नेतृत्वमा आधारित भए पनि अध्यक्ष राजेन्द्र लिङ्देनले एकल नेतृत्वको शैली अपनाएको आरोप छ, जसले पार्टीभित्र विवाद, संकट र असन्तोष उत्पन्न गरेको छ ।
००००
नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा शेर्पाले प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई पराजित गरेका हुन् ।
००००
संयुक्त अरब इमिरेट्स (यूएई)मा समस्यामा परेका सात नेपाली श्रमिक उद्धारपछि सुरक्षित रूपमा नेपाल फर्किएका छन् । सातजनै नेपाली गएराति नेपाल फिर्ता भएका हुन् । 

केही दिनअघि एनआरएनए एनसीसी यूएईका अध्यक्ष विकास शाहीलाई सम्बोधन गरी कृष्णप्रसाद मराइज, लिला बहादुर तामाङ, अमन तामाङ, राजन बस्नेत, सबिन बिके, हेमबहादुर सुनार र राज बिके गरी सात जनाले काम र सुविधाको अभावबारे निवेदन दिएका थिए ।
००००
रौतहटमा एक महिलाको शव फेला परेको छ । बेवारिस अवस्थामा सडक किनारामा रहेको सुटकेशभित्र महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजन कार्कीले जानकारी दिए ।
००००
बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा भारी वर्षा भएको जल तथा मौसम विभागले जनाएको छ । विभागका अनुसार सबैभन्दा धेरै वर्षा काठमाडौँको बुढानीलकण्ठमा ६६.२ मिलिमिटर मापन गरिएको छ ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा अपहरणमा परेका नेपाली युवा विपिन जोशीको सकुशल रिहाइका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबूकमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै विपिनको आमा र बहिनीसँग भेट भएको फोटो राखेका हुन् ।
००००
नेपाल ओलम्पिक कमिटी (एनओसी) तदर्थ समितिले एनओसीको नाममा रहेको चलअचल सम्पत्तिलगायत नगद तथा जिन्सी सामग्री र माइन्युट बुक तत्काल तदर्थ समितिलाई बुझाउन भन्दै अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठलाई पत्राचार गरेको छ ।

तदर्थ समितिद्वारा गठित सचिवालय व्यवस्थापन उपसमितिको संयोजकको हैसियतले निलेन्द्रराज श्रेष्ठले शुक्रबार जीवनराम श्रेष्ठलाई पत्राचार गरेका हुन् । पत्र प्राप्त भएको मितिले तीन दिनभित्र सम्पूर्ण कागजात तदर्थ समितिलाई बुझाउन भनिएको छ ।
००००
समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन तीनदिने औपचारिक नेपाल भ्रमणमा छिन् । नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा उनी शनिबार काठमाडौँ आएकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्