
काठमाडौं महानगरपालिका २६ मित्रनगरबाट आइतबार स्कुटर चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा काठमाडौंको गल्कोपाखा बस्ने ३७ वर्षीय रिकेश खड्गी रहेका छन् ।
वास्तविक नम्बर प्रदेश ०३-०२-००५ प ३ ७ २ रहेको स्कुटरको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०२१ प ७९२४ राखि चलाइरहेको अवस्था फेला पारी खड्गीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त स्कुटर भक्तपुर बस्ने कञ्चन भुजुले काठमाडौंको ठमेलबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।
स्कुटर सहित नियन्त्रणमा आएका उनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त लैनचौर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक गिरीले सम्पूर्णमा अनुरोध गरेका छन् ।