
हरितालिका व्रतको तयारीस्वरूप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरू हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने तीजको पहिलो दिन दर खाइन्छ ।
तीजको व्रत बस्न सक्नेहरू निराहार हुने भएकाले आज बर्तालुहरू मीठामीठा शक्ति प्राप्तिका लागि आडिलो परिकार दरका रुपमा खाई व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली एवं दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्छन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको छ ।
महिलाले वर्षदिनभर आफूलाई परेका दुःख, पिर र मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजका अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्छन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःखमर्कालाई नारीले पोख्ने गरेका छन् ।
पछिल्ला वर्षमा तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको छ । एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको समाजशास्त्री कीर्तिकुमार राई बताउँछन् ।
यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवं समाजशास्त्रीले जोड दिएका छन् । एक महीनाअघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा तोकिएको छ ।
दर खाएपछि औपचारिक रुपमा शुरू हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तर्षिको पूजा गरी तीज समापन हुन्छ ।
तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ । पुराणअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि उनले साथीहरूलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।
यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिकाको व्रत लिने प्रचलन शुरू थियो ।
असावधानीबस् पुरानो सामग्री प्रकाशित भएकोमा क्षमा प्रार्थीसहित सच्चाइएको छ । -सम्पादक