१० साउन २०८३, आइतबार

लुम्बिनी प्रदेशको राजधानी क्षेत्रको जग्गा सर्तसहित फुकुवा हुने

भदौ ९, २०८२
बुटवल
लुम्बिनी प्रदेशको राजधानी क्षेत्रको जग्गा सर्तसहित फुकुवा हुने

लुम्बिनी प्रदेश सरकारले राजधानी क्षेत्रमा पाँच वर्षदेखि रोक्का रहेको जग्गा सर्तसहित फुकुवा गर्ने निर्णय गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजधानी क्षेत्रभित्र राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकामा रोक्का राखिएका निजी जग्गा स्थानीयको माग र पूर्वाधार विकास प्राधिकरणको सिफारिसअनुसार सर्तसहित फुकुवाका लागि संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

निर्णय अनुसार राप्ती गाउँपालिकाका सम्पूर्ण वडा, गढवा गाउँपालिका वडा नं. १, २ र ३ मा १ कठ्ठाभन्दा सानो र शितगंगा नगरपालिका वडा नं. ८ र ९ मा १ रोपनीभन्दा सानो क्षेत्रफलमा कित्ताकाट गर्न पाइने छैन ।

साथै, जग्गा खरिदकर्ताले एकीकरण आयोजनाका सर्तहरू पालना गर्नेगरी सहमति पत्रमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रदेश राजधानी घोषणा अघि २०७७ साल असोज १६ गते सरकारले जग्गा रोक्का राख्ने निर्णय गरेको थियो ।

यस्तै, प्रशासनिक, कानूनी, भौतिक पूर्वाधार र सामाजिक क्षेत्रका विषयबारे बैठकले निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए । 

बैठकले तीन जना प्रदेश सचिवहरूको जिम्मेवारी तोकेको छ । मोतिराम सापकोटालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विनोद लामिछानेलाई युवा तथा खेलकुद मन्त्रालय र चुर्णबहादुर ओलीलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी तोकिएको हो । 

यस्तै, बैठकले प्रदेश निजामती सेवा पुरस्कार छनोटका लागि मापदण्ड स्वीकृत गरेको छ । यस्तै, संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन र आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिकका लागि अस्थायी संगठन संरचना स्वीकृत गरिएको मन्त्री पन्थीले जानकारी दिए । 

बैठकले सञ्चार माध्यमसम्बन्धी ऐन संशोधन र एकीकरण गर्न अवधारणापत्र स्वीकृत गरेको छ । त्यस्तै, नुवाकोट सांस्कृतिक डबली तिनाउ गाउँपालिकालाई हस्तान्तरण गर्ने, अष्ट्रेलियाको वेन्डिगोस्थित ग्रेट स्तुप अफ युनिभर्सल कम्प्यासनसँग औपचारिक सम्बन्ध स्थापना गर्दै बुद्धको प्रतिमा स्थापना गर्ने निर्णय पनि भएको छ । 

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमार्फत् भूमि व्यवस्थापनसम्बन्धी विधेयकको अवधारणापत्रलाई सैद्धान्तिक स्वीकृति दिइएको छ भने सामाजिक विकास मन्त्रालयमार्फत् दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरिएको छ । 

स्वास्थ्य मन्त्रालयको तर्फबाट प्रस्तुत गरिएको प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नविकरण तथा स्तरोन्नति नियमावली, २०८२ संशोधन मस्यौदालाई पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्