
पाँचथर र कास्कीमा अवैध लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।
पाँचथरको फिदिम नगरपालिका-४ नुमा मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय १० मिलिग्रामसहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय बसन्त लिम्बु, कुम्मायक गाउँपालिका-४ बस्ने २७ वर्षीय रविन लिम्बु र मोरङ मिक्लाजुङ गाउँपालिका-१ बस्ने ३२ वर्षीय सुमन राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले बसन्तको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी, कास्कीको पोखरा महानगरपालिका-८ रत्नचोक इन्द्र मार्ग बस्ने ५० वर्षीय रमेश थापालाई अवैध लागूऔषध गाँजा ४ किलो १ सय ग्राम, नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन १ सय ६१ एम्पुल, डाईजेपाम १ सय ३५ एम्पुल, फेनारगन १ सय ६४ एम्पुल र डिजिटल तराजु १ थानसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।