२२ जेठ २०८३, शुक्रबार

हराए तीजका मौलिक भाका

भदौ १०, २०८२
कैलाली
हराए तीजका मौलिक भाका

कुनै समय थियो, गाउँघरमा मादलको ताल र मौलिक भाकाको गुञ्जनसँगै तीजको रौनक शुरू हुन्थ्यो । दिदीबहिनीहरू आँगनमा जम्मा भएर वर्षभरिका दुःख, बेदना र भोगाइलाई गीत गाउँदै मादलको तालमा नाचेर मन हल्का पार्थे । दिनभर काम अनि साँझ पर्नासाथ भेला भएर तीजका भाका गाउने चलन थियो । ती गीतहरू केवल रमाइलोका लागि मात्र हुन्थेनन् । मनका पीडा, व्यथा पोख्ने माध्यम बन्थे ।

घोडाघोडी नगरपालिका–८ की ६१ वर्षीया पार्वतीदेवी खत्री ती पुराना दिन सम्झिन्छिन् । उनी भन्छिन्, 'रोपाइँ सकिने वित्तिकै साउनदेखि गाउँमा मादल घन्किन थाल्थे । सबै जम्मा भएर महिना दिनसम्म नाचगान गरिन्थ्यो । अब त ती सबै हराउँदै गए ।'

स्थानीय ६३ वर्षीया तोलादेवी विष्टको सम्झनामा पनि उस्तै छ । उनी भन्छिन्, 'पहिले तीजमा महिलाले आफ्ना पीडा पोख्थे । गीत गाउने माध्यम  आफ्नै आवाज थियो । अहिलेका गीत त भड्किला हुँदै गए, मनको बोझ बिसाउने ठाउँ हराए ।'

समय फेरियो । मादलको स्थान ‘साउण्ड सिस्टम’ र आधुनिक सङ्गीतले लियो । मनका बह पोख्ने मौलिक भाकाहरू भड्किलो र व्यावसायिक गीतहरूको भीडमा हराएको कैलाली जिल्ला समन्वय प्रमुख टीका चौधरी भुल बताउँछिन् । पुराना पुस्ताका लागि तीज केवल नाचगान र रमाइलो मात्र थिएन, विवाहपछि घरपरिवार र समाजबाट भोगेका पीडा, माइतीको सम्झना जस्ता विषयहरू तीज गीतका मुख्य विषयवस्तु थिए । 

स्थानीय ६५ वर्षीय मैती बुढाथोकीले विगत सम्झँदै भन्छिन्, 'माइत जान पनि तीज नै कुर्नुपथ्र्यो, त्यसमाथि लिन नआए जान पाइँदैनथ्यो । मादल मुजुरा जस्ता परम्परागत बाजाहरूको तालमा गाइने यी गीतहरूमा भावनात्मक गहिराइ र मौलिकता थियो । अब त मादलको भाका सुनिनै मुस्किल पर्छ ।' 

पछिल्ला केही वर्षयता तीज गीतको स्वरूपमा ठूलो परिवर्तन आएको छ । भड्किलो दुई अर्थी शब्दहरूको प्रयोग बढेको घोडाघोडी नगरपालिकाकी उपप्रमुख गुलिया कुमारी चौधरी बताउँछिन् । चौधरीले भनिन्, 'मादल बजाएर तिजका भाका गाउँदै नाच्ने त देखिन छाडियो ।' 

मौलिकता हराउँदै जाँदा सबैभन्दा ठूलो असर मादलजस्ता परम्परागत बाजाहरूमा परेको छ । यसले एकातिर सांस्कृतिक पहिचानलाई कमजोर बनाइरहेको छभने अर्कोतिर मादल बनाउने र बजाउने पेसा सङ्कटमा परेको छ । लम्की चुहा नगरपालिका–३ का मादल व्यवसायी तीर्थ वादी भन्छन्, 'तीज, तिहार, विवाह हुने सिजनमा पहिले खुबै मादल बिक्री हुन्थ्यो । मादलको साटो बाख्रासम्म दिने गर्थे तर अहिले मादल बेच्नै गाह्रो छ ।'

तीज गीतमा बढ्दो विकृति र मौलिकता हराउँदै गइरहेको बेला यसलाई जोगाउने प्रयास पनि भइरहेका छन् । कैलालीको घोडाघोडी नगरपालिकाले मौलिक तीज गीत प्रतियोगिता आयोजना गरेर परम्परागत भाका र संस्कृति जोगाउने प्रयास गरेको छ । 

अघिल्लो वर्ष पनि आयोजना गरेको पालिकाले यस वर्ष सोमबार तीज प्रतियोगिताको आयोजना गरेको हो । यस्ता प्रतियोगिताहरूले पुराना भाकाहरूलाई नयाँ पुस्तासम्म पुग्न मद्दत गर्ने नगरपालिकाका प्रमुख खड्क रावत बताउँछन् । रासस

salt training

कमेन्ट गर्नुहोस्