![पशुपतिमा देखिएका थरिथरि दृष्य : केहीलाई कामको चाप, कसैलाई टिकटकमै भ्याइ नभ्याइ [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/teej_final_qCkEsGHr2C.jpg)
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ ।
हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ ।
तीजको अवसरमा देशभरका शिवमन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्न महिला श्रद्धालुहरूको भीड लागेको छ ।

तीजमा पशुपतिमा थरिथरिका दृष्य देखिएका छन् । पशुपतिमा भेला भएका कोही महिलाहरू शिवजीको दर्शन गर्नुका साथै नाचगान गर्दै फोटो/भिडियो/टिकटक बनाइरहेका देखिन्छन् ।
कोही भने आफ्नो कर्तव्य पनि निर्वाह गरिरहेका छन् । सुरक्षाकर्मीसँगै सञ्चारकर्मी अनि सफाइकर्मी महिलाहरू काम गरिरहेका देखिन्छन् ।

पशुपति क्षेत्र विकास कोषले भक्तजनको सहजताका लागि विभिन्न सुविधा दिएको छ । यसै क्रममा यस वर्ष पहिलोपटक गर्मीबाट बच्न कृत्रिम वाटर ड्रपलेट गराइएको छ ।

मन्दिरको पश्चिम ढोका अगाडि वाष्पीकरण गराइएको हो । अहिले परीक्षण गरिएको र पछि प्रभावकारी देखिए अरू बेला पनि प्रयोग गरिने कोषले जनाएको छ । विगतमा तिजको दिन महिलाहरू गर्मीले ढल्ने बेहोस हुने गरेपछि यो उपाय अपनाइएको हो ।














