
भारतका पूर्वक्रिकेटर मनोज तिवारी यतिबेला चर्चामा छन् । उनी भारतीय टोलीका प्रमुख प्रशिक्षक गौतम गम्भीरको विषयमा गरेको टिप्पणीका कारण चर्चामा आएका हुन् । उनले भारतीय टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीको विषयमा पनि नकारात्मक टिप्पणी गरेका छन् ।
धोनीले आफूमाथि अन्याय गरेको आरोप उनले लगाएका छन् । उनले धोनीको व्यवहार पक्षापातपूर्ण रहेको दाबी गरेका छन् ।
यसका अतिरिक्त तिवारीले भारतीय टोलीका वर्तमान प्रमुख प्रशिक्षक गौतम गम्भीरलाई ‘पाखण्डी’ को संज्ञा दिएका छन् । ‘मेरो विचारमा गौतम गम्भीर पाखण्डी व्यक्ति हुन् । उनी परिस्थितिअनुसार, आफ्नो बोली फेर्न माहिर छन् । हिजो पाकिस्तानसँग कुनै पनि हालतमा क्रिकेट खेल्नु हुन्न भनेर वक्तव्य दिने गम्भीर अहिले पाकिस्तानसँग खेल्ने रणनीति बुन्दैछन् । यो पाखण्ड नै हो,’ तिवारीले भनेका छन् ।
केही समयअघि भारतको पहलगाममा आतंककारी आक्रमण भएपछि गौतम गम्भरीले आगामी दिनमा भारतले पाकिस्तानसँग क्रिकेट खेल्न नहुने धारणा राखेका थिए । त्यतिबेला गम्भीरले भनेका थिए, ‘पाकिस्तानले आतंकवादलाई साथ दिएसम्म भारतले पाकिस्तानी टोलीसँग क्रिकेट खेल्नु हुँदैन ।’
अहिले आएर भारतीय टोलीले एसिया कपमा पाकिस्तानी टोलीसँग खेल्ने तयारी गरिरहेको छ । भारत सरकारले पनि आफ्नो टोलीलाई आगामी एसिया कपमा पाकिस्तानसँग खेल्ने अनुमति दिइसकेको छ । प्रमुख प्रशिक्षक भएको नाताले गौतम गम्भीरले भारतीय टोलीलाई प्रशिक्षण दिँदै आएका छन् ।
सोही विषयलाई लिएर तिवारीले गम्भीरलाई पाखण्डीको संज्ञा दिएका हुन् । ‘हिजो त खुबै कुर्लनु भएको थियो । अब के गर्नुहुन्छ ? एसिया कपमा पाकिस्तानसँग खेल्ने कि बहिष्कार गर्ने ? तपाईंले जवाफ दिनै पर्छ । यस्तो पाखण्ड गरेर हुँदैन,’ उनले भनेका छन् ।
कप्तान हुँदा महेन्द्रसिंह धोनीले पनि आफूमाथि अन्याय गरेको आरोप उनले लगाएका छन् ।