२८ असार २०८३, आइतबार

काजकिरियामा बसेको परिवारमाथि मध्यरातमा साङ्घातिक आक्रमण, किरियापुत्रीसहित ४ जना घाइते

आक्रमण गर्नेहरू पक्राउ
भदौ १०, २०८२
विराटनगर
काजकिरियामा बसेको परिवारमाथि मध्यरातमा साङ्घातिक आक्रमण, किरियापुत्रीसहित ४ जना घाइते
तस्वीर : आक्रमणबाट घाइते भएका किरणसहित उनका बुवा हरिनारायण, बहिनी काली र भाइ सन्तोष ।

विराटनगरमा एक शोकाकुल परिवारमाथि मध्यरातमा साङ्घातिक आक्रमण भएको छ । जसमा आमाको काजकिरियामा बसेका छोरासहित ४ जना घाइते भएका छन् ।

विराटनगर महानगरपालिका–११ पिचरास्थित दुर्गा मन्दिर अगाडि बस्ने ७१ वर्षीय हरिनारायण कामतको परिवारमाथि सोमबार मध्यरातमा आक्रमण भएको हो । केही दिनअघि मात्र जीवनसँगिनी गुमाएका हरिनारायणको परिवार शोकमा डुबेको थियो ।

उनका ४९ वर्षीय माइला छोरा किरण आफ्नो संस्कार अनुसार, आमाको किरियामा बसेका छन् । यस्तो दु:खद र संवेदनशील क्षणमा कामत परिवारमाथि आक्रमण भएको हो ।

यो आक्रमणको पछाडि लामो समयदेखिको जग्गा विवाद रहेको खुलेको छ ।

कामत परिवार विगत ३५ वर्षदेखि बसोबास गर्दै आएको कित्ता नम्बर ८८ को एक कट्ठा जग्गाको स्वामित्वलाई लिएर विवाद चल्दै आएको थियो । मालपोतको श्रेस्तामा डेलादेवी दाहालको नाममा दर्ता रहेको उक्त जग्गाको भोगचलन कामत परिवारले गर्दै आएको छ ।

यो विवाद अदालतसम्म पुगेको र जिल्ला अदालत हुँदै पुनरावेदन अदालतले समेत विक्रम संवत् २०५३ सालमा हरिनारायण कामतको पक्षमा फैसला सुनाइसकेको परिवारको दाबी छ ।

तर, प्रतिपक्षीले अदालतको फैसलालाई स्वीकार गरेका छैनन् । जग्गाधनी दाहालले उक्त जग्गासम्बन्धी सम्पूर्ण कारोबार हेर्ने अख्तियारी (वारेसनामा) आक्रमणमा संलग्न ३५ वर्षीय सुनिल सहनीलाई दिएकी थिइन् ।

यही वारेसनामाको आडमा सहनी र उनका साथी प्रमोद सहनीले कामत परिवारलाई पटक-पटक धम्की दिँदै आएको आरोप उनीहरूको छ ।

आक्रमणबाट खुट्टामा लागेको चोट देखाउँदै किरियापुत्री किरण कामत ।

सोमबार राति करिब साढे १२ बजे प्रमोद र सुनिल काजकिरियामा बसेको कामत निवासमा पुगेका थिए । शुरूमा समवेदना प्रकट गर्न आएको अनुमान गरिए पनि उनीहरूले घरभित्र पस्नासाथ गालीगलौज गर्न थालेका कामत परिवारको दाबी छ । 

किरियामा बसेका किरणले घरमा जुठो परेको र यसो नगर्न विनम्रतापूर्वक आग्रह गर्दा उनीहरू झनै आक्रामक बनेका थिए । ‘तँ हामीलाई सिकाउने ?’ भन्दै उनीहरूले बाँसको भाटाले किरणमाथि अन्धाधुन्ध प्रहार गरेका थिए । कुटपिटबाट आफ्नो देब्रे खुट्टामा गहिरो चोट लागेको किरणले सुनाए ।

दाजुलाई कुटिरहेको देखेपछि बचाउन आएकी ४० वर्षीया बहिनी काली कामतलाई पनि उनीहरूले भाटाले हिर्काउनुका साथै सुनिलले देब्रे हातमा टोकिदिएका थिए ।

आक्रमणमा कान्छो भाइ सन्तोष कामत र ७१ वर्षीय बुवा हरिनारायणसमेत घाइते भएका छन् । सन्तोषको मुख र निधारमा तथा हरिनारायणको हातमा चोट लागेको छ ।​

घटनालगत्तै उनीहरूले प्रहरीलाई खबर गरेका थिए । तर प्रहरी घटनास्थल पुग्नुअघि नै आक्रमणकारी भागिसकेका थिए ।

तर, मंगलबार बिहान पीडित परिवारले जिल्ला प्रहरी कार्यालय, मोरङमा किटानी जाहेरी दिएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ ।

मोरङ प्रहरीकी प्रवक्ता, डीएसपी कोपिला चुडालले घटना अत्यन्तै संवेदनशील प्रकृतिको रहेको र किरियामा बसेका व्यक्तिमाथि भएको आक्रमणलाई गम्भीर रूपमा लिई अनुसन्धान अगाडि बढाइएको बताइन् ।

पक्राउ परेका दुवै जनालाई अभद्र व्यवहार मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यस घटनाले शोकमा परेको परिवारलाई सबैभन्दा कमजोर समयमा निशाना बनाइएको भन्दै स्थानीय स्तरमा समेत आक्रोश पैदा भएको छ ।

विगत ३५ वर्षदेखि बस्दै आएको कामत परिवारको घर ।

salt training

कमेन्ट गर्नुहोस्