
प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा र क्रोएसिया पठाइदिने भन्दै रु १५ लाख २१ हजार ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा डडेल्धुरा भागेश्वर गाउँपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वर बस्ने २४ वर्षीय सुरेश नाथ र सङ्खुवासभा मकालु गाउँपालिका–४ घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१३ बस्ने ४३ वर्षीय धनबहादुर राई रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
पक्राउ परेकामध्ये सुरेशले क्यानडा पठाउने भन्दै रु १७ लाख एक हजार र धनबहादुरले क्रोएसिया पठाउने भन्दै रु १३ लाख ५० हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरी परेको थियो ।
पक्राउ परेका दुवै जनालाई आजै थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले जानकारी दिए ।
यसैबीच प्रहरीले काठमाडौँ महानगरपालिका–२६ पवित्रनगरस्थित रम्भादेवी गेष्ट हाउसबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ५० ग्रामसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरूमा दाङ घोराही उपमहानगरपालिका–१० का ३२ वर्षीय निरोज कुँवर, भक्तपुर सूर्यविनायक नगरपालिका–६ का ३० वर्षीय सुभाष मिश्र तथा धादिङ सिद्धलेक गाउँपालिका–३ घर भएका २८ वर्षीय सूर्यबहादुर थापा रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।