
काठमाडौं महानगरपालिकाको व्यवहारलाई अन्यायपूर्ण भन्दै कबाड व्यवसायीले बुधबार पनि आफ्नो आन्दोलनलाई निरन्तरता दिने भएका छन् ।
कबाड व्यवसायी संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताले सर्वोच्च अदालतको आदेश बेवास्ता गर्दै मेयर बालेन्द्र शाहले व्यवसायीमाथि बल प्रयोग र ज्यादती गरिरहेको आरोप लगाए । उनले यसलाई आफूहरूको बाध्यता स्वरूप सुरु गरिएको शान्तिपूर्ण आन्दोलनका रूपमा चित्रित गरे ।
उनका अनुसार अदालतको आदेशको पूर्ण पालना हुने आश्वासन नआउँदासम्म आन्दोलन रोकिने छैन । “कानून पालना गर्ने सवालमा बालेनलाई झुकाइएन भने हामी आन्दोलन छाड्दैनौं,” उनले जोड दिए ।
आन्दोलनकारीले सोमबारदेखि महानगर घेराउ गर्दै विरोध प्रदर्शन गरिरहेका छन् । ‘सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर’, ‘कबाड व्यवसायीमाथि अन्याय बन्द गर’, ‘गुण्डागर्दी बन्द गर’ जस्ता नारा लगाउँदै उनीहरूले मेयरको निर्णयलाई चुनौती दिइरहेका छन् ।