
रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी शरीर जलेको अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आरोपी लक्ष्मण पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका हुन् ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएर गरुडा अस्पताल पुर्याएको छ । गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी रुबी मृत अवस्थामा सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएकी थिइन् ।
रौतहटका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीका अनुसार हत्याका मुख्य आरोपी पासवानले आफ्नो शरीरमा आफैंले आगो लगाएको अवस्थामा भेटिएका हुन् ।
माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि आज बिहान करिब साढे ६ बजे एक जना व्यक्तिले आत्मदाह गर्न लागेको सूचना पाएपछि पुगेको प्रहरीले पासवानलाई शरीर जलेर घाइते भएको अवस्थामा फेला पारेको एसपी गिरीले जानकारी दिए ।
‘लक्ष्मणले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको भन्ने छ, उनलाई गम्भीर अवस्थामा फेला पारेर प्रहरीले उपचारका लागि गरुडामा रहेको एक अस्पतालमा पुर्याएको हो,’ एसपी गिरीले भने,‘ थप अनुसन्धान हुँदैछ ।’