
नेपालकै दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन झापाको चारआलीमा निर्माण हुने भएको छ । भारतको पश्चिम बंगालस्थित सिलिगुडीदेखि झापाको चारआलीसम्म ५० किलोमिटरको दुरीमा देशकै दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण हुन लागेको हो ।
५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र स्मार्ट ग्रीनफिल्ड टर्मिनल तथा भण्डार गृह भारतीय आयल निगम(आईओसी)ले अनुदानमा बनाइदिन लागेको हो ।
पाइपलाइनका लागि नेपालतर्फ बाउन्ड्रीवाललगायत कामको लागि टेन्डर खुलाइसकेको आयोजना प्रमुख इन्जिनियर सुरेन्द्र महतोले बताए । ९ महिनाभित्रै सिङ्गल टेन्डरमै सम्पूर्ण बाउन्ड्री र भौतिक संरचनाको काम सम्पन्न गरिसक्ने उनको भनाइ छ ।
‘नेपालतर्फ हामीले बाउन्ड्रीवाललगायत ल्याण्डको कामका लागि टेन्डर आह्वान गरिसकेका छौं । ९ महिनाभित्रै हामीले हाम्रोतर्फको काम सम्पन्न गरेर दिनुपर्ने छ’, लोकान्तरसँग उनले भने, ‘उता भारतर्फको काम पनि भइरहेको छ ।’
३५ किलोमिटर खण्ड भारततर्फ र १५ किलोमिटर नेपालतर्फ पर्ने पाइपलाइनको काम सम्पूर्ण आईओसीले गर्ने उनको भनाइ छ । जसमा नेपाल आयल निगमले सहजीकरणको भूमिका निर्वाह गर्ने छ ।
रुख बिरुवा कटान गर्दा पर्न सक्ने वातावरणीय प्रभावसम्बन्धी मूल्याङ्कन (ईआईए) गर्नुपर्ने हुन्छ । सिलगुडी–झापा(चारआली)को वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गरेर मन्त्रालयमा पठाइएको र मन्त्रालयलाई ईआइएको रिभ्यू समेत बुझाइसकेको उनले बताए । मन्त्रालयबाट स्वीकृत आएगलत्तै सम्पूर्ण कामका लागि बाटो खुल्ने उनको भनाइ छ ।
झापाको चारआलीमा १८ हजार ९०० किलो लिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल बन्नेछ । यो नेपालकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन मोतिहारी–अमलेखगञ्जको सफल कार्यान्वयनपछि दोस्रो चरणमा बनिरहेको छ ।
चारआलीदेखि सिमानासम्मको १५ किलोमिटरको दुरीमा ठुला र साना गरी ७ वटा पुलहरू पर्छन् । नदीमा पर्ने ठाउँमा अन्डरग्राउन्डमार्फत् पाइपलाइन लगिने छ । नेपालर्फ कुनै पनि वनजंगल नपर्ने भएकोले पाइपलाइनको काम सम्झौता अवधिभन्दाअगावै सम्पन्न हुने आयोजनाको अनुमान छ ।
पाइपलाइन विस्तार गर्न भारतसँग १५ अर्ब भारतीय रुपैयाँमा दुई वटा पाइपलाइन र एउटा स्मार्ट ग्रीनफिल्ड टर्मिनल बनाउने सम्झौता भएको थियो । परियोजना भारतले अनुदानमै बनाइदिने गरी सम्झौता भएको हो ।
एउटा नेपालको अमलेखगंजबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजनाको काम अगाडि बढिसकेको छ ।
अर्को झापामा पाइपलाइन र भण्डारगृहको काम पनि अगाडि बढिसकेको नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।
झापाको चारआलीमा आयल निगमले २०७३ सालमा नै २३ बिघा जग्गा खरिद गरेको थियो । सोही जग्गामा अहिले आयल निगमले भण्डारण गृह निर्माणको तयारी भइरहेको उनले बताए ।
नेपालमा पेट्रोलियम पदार्थको सहज, सुरक्षित र आपूर्तिका लागि नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन र भण्डार गृह निर्माणका लागि (जीटूजी) सम्झौता भएको थियो । जसअनुसार परियोजनाको संयुक्त प्राविधिक अध्ययन सम्पन्न भई निर्माणको प्रक्रिया बढी सकेको छ ।
सम्झौताअनुसार सिलिगुडी–झापा(चारआली) पाइपलाइन र भण्डारगृह निर्माणको अवधि ५४ महिना अर्थात् करिब साढे ४ वर्ष उल्लेख गरिएको छ । तर, आईओसिले ३० महिना अर्थात् साढे दुई वर्षमै सम्पन्न गर्ने जनाएको छ ।
ट्यांकरमार्फत इन्धन ढुवानी गर्दा लाग्ने समय, खर्च, ट्राफिक जाम, वातावरणीय प्रदूषण र चुहावट जस्ता समस्यालाई पाइपलाइनले पूर्ण रूपमा अन्त्य गर्ने एनओसीको विश्वास छ ।
दुई पाइपलाइन र चारआलीको स्मार्ट ग्रीनफिल्ड टर्मिनल निर्माण कार्य सम्पन्न गर्न भने कूल २४ अर्ब ५० करोड २२ लाख ८३ हजार नेपाली रुपैयाँ (१५ अर्ब ३० करोड भारतीय रुपैयाँ)को लागत अनुमान गरिएको छ ।
भारतको वेस्ट वंगालस्थित सिलिगुडीको आईओसीको डिपोदेखि बोर्डरसम्म ३६ किलोमिटर र बोर्डरदेखि झापाको चारआलीसम्म १४ किलोमिटर गरी ५० किलोमिटर पाइपलाइन ओछ्याउन करिब २ अर्ब ६७ करोड भारतीय रुपैयाँ र भण्डारण गृहसहित टर्मिनल निर्माण गर्न करिब ४ अर्ब २९ करोड भारतीय रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
आयोजना अनुसार झापाको मेचीनगर नगरपालिका १३ चारआलीमा निगमले इन्धन भण्डारण गर्न भण्डार गृह र अत्याधुनिक अटोमेसन प्रविधिसहितको ग्रीनफिल्ड स्मार्ट टर्मिनल पनि निर्माण गर्न लागेको छ । जहाँ पेट्रोलतर्फ २ हजार २ सय किलो लिटर क्षमताको ३ वटा गरी कूल ६ हजार ६ सय किलोलिटरको भण्डारण गृह र डिजेलतर्फ ४ हजार १ सय किलो लिटर क्षमताको ३ वटा गरी कूल १२ हजार ३ सय किलोलिटरको भण्डारण गृह हुनेछ ।
यो पनि
अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइन : ९१ हजार किलोलिटर क्षमताको भण्डारण गृहनिर्माण हुने