
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संख्याको तागत विवेकभन्दा ठूलो हुने प्रणालीले आफूहरूको संघर्षलाई कठिन बनाएको बताएका छन् ।
नवराज पुडासैनी ‘गुराँस’द्वारा लिखित ‘संघर्षमा सिरानचोक’ पुस्तकको बुधबार काठमाडौंमा लोकार्पण तथा विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
‘यदि जनयुद्ध र माओवादी आन्दोलनले स्थापित गरेका मान्यताहरूलाई हामीले विद्यालय, कलेज, गाउँ, शहरमा स्थापित गर्न सकेको भए आज देखिएको अराजकता र बेथिति रोक्न सकिन्थ्यो । संख्याको तागत विवेकभन्दा ठूलो हुने प्रणालीले हाम्रो संघर्षलाई कठिन बनाएको छ’, प्रचण्डले भने ।
प्रचण्डले ७५३ वटै पालिकामा जनताको संघर्षका गाथा र योगदान लिपिबद्ध गर्ने अभियान अघि बढाउनुपर्ने आवश्यकता औंल्याए । उनले प्रत्येक पालिका र वडास्तरसम्मै भएका त्याग, तपस्या र बलिदानका ऐतिहासिक गाथा संकलन गरेर एउटा ठूलो राष्ट्रिय कृतिमा परिणत गर्न सकिने बताए ।
‘नवराजजीले गर्नुभएको यो कार्य प्रेरणादायी छ । यो अभियान ७५३ पालिकामा विस्तार हुनु जरुरी छ । यसले गणतन्त्रका लागि योगदान गर्ने कांग्रेस, एमाले, माओवादी वा जुनसुकै दलसँग सम्बन्धित सहिद र योद्धाहरूलाई समान सम्मान गर्ने बाटो खोल्छ’, प्रचण्डले थपे ।
अध्यक्ष प्रचण्डले यसअघि प्रज्ञा प्रतिष्ठानमा माओवादी जनयुद्धसँग सम्बन्धित कृतिहरूलाई गरिएको विभेद पछिल्लो समय सच्चिएको उल्लेख गरे । उनले भने, ‘माओवादी जनयुद्धलाई अछुतको रूपमा होइन, इतिहासको महत्त्वपूर्ण अंगका रूपमा मान्यता दिने प्रयास शुरूमा भएकोमा धन्यवाद।’
उनले जनयुद्धलाई साहित्य, दर्शन र संस्कृतिको दृष्टिमा समेत मौलिक सौन्दर्य र ऐतिहासिक योगदान भएको भन्दै यसलाई विद्यालयदेखि विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिए ।
प्रचण्डले नेपाली जनयुद्धको तयारी केवल मार्क्स, एंगेल्स, लेनिन, माओका ग्रन्थ पढेर नभई नेपालकै विगतका विद्रोह र आन्दोलनहरूको गहिरो अध्ययनका आधारमा गरिएको स्मरण गरे ।
‘लखन थापादेखि भीमदत्त पन्त, झापा विद्रोहदेखि किसान संघर्षसम्मको इतिहास अध्ययन गरेर नै रणनीति तयार भएको थियो । त्यसैले जनयुद्ध सिङ्गो राज्य शक्ति र अन्तर्राष्ट्रिय शक्तिको दबाबमा पनि दबिएन, जनताले निरन्तर साथ दिए’, उनको भनाइ छ ।
प्रचण्डले माओवादी आन्दोलनको मानवीय पक्षलाई विशेष गरी स्मरण गर्दै युद्धका क्रममा कतिपय कमजोरी भए पनि आत्मालोचना र सुधार गर्ने परम्परा माओवादीमा मौलिक रहेको उल्लेख गरे ।
उनले विभाजन र अन्तरद्वन्द्वका कारण आन्दोलनको महत्त्वपूर्ण उपलब्धि जनतामाझ पूर्णरूपमा स्थापित गर्न नसकिएको स्वीकार गर्दै गणतन्त्रले ल्याएको परिवर्तनलाई संस्थागत गर्न परिवर्तनको आन्दोलन जनयुद्वलाई सही मूल्यांकन गर्न आवश्यक रहेको बताए ।