२५ जेठ २०८३, सोमबार

गणेश थापालाई फुटबल गतिविधिमा संलग्न हुनबाट रोक नलगाउन अदालतको आदेश

भदौ ११, २०८२
काठमाडौं
गणेश थापालाई फुटबल गतिविधिमा संलग्न हुनबाट रोक नलगाउन अदालतको आदेश

उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई फुटबल गतिविधिमा संलग्न हुनबाट रोक नलगाउन एन्फाको नाममा आदेश जारी गरेको छ ।

विश्व फुटबल महासंघ (फिफा) ले लगाएको १० वर्ष लामो प्रतिबन्धको अवधि समाप्त भइसक्दा पनि आफूलाई फुटबल गतिविधिमा संलग्न हुनबाट रोक लगाएको भन्दै थापाले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।

‘फिफाले निज निवेदकलाई १० वर्षको लागि कारबाही गरेकोमा सो कारबाही अवधिसमेत समाप्त भइसकेको तथा एन्फाले सोही विषयमा पुन: कारबाही गरी दोहोरो खतरामा राखेको देखियो । एउटै विषयमा पटक–पटक कारबाही गर्न नसकिने प्राङ्न्यायको सिद्धान्त समेतबाट पुन: कारबाही गर्न मिल्ने देखिँदैन’, अदालतको आदेशमा भनिएको छ ।

अदालतले प्रचलित कानून, फिफा र एन्फाको विधान बमोजिमबाहेक थापालाई फुटबल गतिविधिमा सहभागी हुनबाट रोक नलगाउन आदेश दिएको छ । 

‘प्रचलित कानून, फिफाको नियम एवं एन्फाको विधान बमोजिमबाहेक निजलाई फुटबल गतिविधिमा सहभागी हुन नपाउने कुनै पनि काम कारबाही नगर्नू नगराउनू भनी एन्फासमेतको नाममा नेपालको संविधानको धारा १४४ बमोजिम उपयुक्त आदेशसम्म जारी गरिदिने ठहर्छ,’ आदेशमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्