
महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–९ रातु खोलास्थित बगर ईलाकाबाट सशस्त्र प्रहरीले ४६ लाख ५० हजार रूपैयाँ बराबरको सञ्चार सामग्री बरामद गरेको छ ।
मधेश प्रदेश ०२–००१ स ५२४८ नंम्बरको ई–रिक्सामा लोड गरी राखेको आवश्यक कागजात तथा बिलविजक समेत नभएको सञ्चार उपकरण इरिक्सन कम्पनीको ८८६३ बी४०मोडलको आठ वटा रेडियो सेट सशस्त्र प्रहरीले बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस भंगाहा र सुरक्षा बेस पशुपतिनगरबाट खटिएको सुरक्षा फौजले उल्लिखित मूल्य बराबरको सञ्चार सामाग्री बरामद गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाले बताए ।
दूरसञ्चारको टावरमा प्रयोग हुने यी उपकरण कसले कुन प्रयोजनका लागि ल्याएको हो खुलेको छैन । बरामद सामान तथा रिक्सा आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जलेश्वरमा बुझाइएको डीएसपी थापाले जानकारी दिए ।