१५ असार २०८३, सोमबार

वैदेशिक हस्तक्षेप कूटनीतिक तवरले समाधान गर्नुपर्छ : अध्यक्ष नेपाल

भदौ १३, २०८२
काठमाडौं
वैदेशिक हस्तक्षेप कूटनीतिक तवरले समाधान गर्नुपर्छ : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छिमेकी मुलुक भारत र चीनले गरेको व्यापारिक सम्झौता मुलुकको राष्ट्रिय अस्मितामाथिको प्रहार भएको बताएका छन्।

पार्टीको काठमाडौँ निर्वाचन क्षेत्र नं ७ द्वारा आज आयोजित अन्तक्र्रियामा उनले नेपालको सिमाना लिपुलेकबाट व्यापारिक मार्ग सञ्चालन गर्ने निर्णय स्वीकार्य नहुने बताए।

उनले दुई देशबीचको व्यापारिक प्रयोजनका लागि गरिएको उक्त सम्झौताले मुलुकको राष्ट्रियतामाथि आँच आएको भन्दै त्यस्तो गतिविधि हुन नदिन सरकारले कूटनीतिक माध्यमबाट पहलकदमी लिनुपर्नेमा जोड दिए।

सरकारले विगतमा पठाएको कूटनीतिक नोटहरूले यस्तो सम्झौता रोकिएको भन्दै उनले महाकाली सम्झौतामा कालि नदीलाई सीमा मानिएकाले त्यसलाई अवरोध गर्नेगरी भएका हस्तक्षेपको कूटनीतिक पहल गरेर समाधान गर्नुपर्ने विचार व्यक्त गरे।

पूर्वप्रधानमन्त्री नेपालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसिसी) सम्झौता पनि राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर गरिएको भन्दै त्यो राष्ट्रियताको भावनाविपरीत कार्यान्वयन हुन नसक्ने उल्लेख गरे।

देशमा कम्युनिष्ट आन्दोलनमा उतारचढाव आएकाले कम्युनिष्ट नेतृत्वको सरकारले पनि जनताको पक्षमा काम गर्न नसकेको बताउँदै उनले अहिले जनतामा असन्तुष्टि रहेको र वामपन्थी शक्तिलाई गोलबद्ध गर्ने प्रयास भइरहेको जानकारी दिए।

समाजवादी मोर्चालाई थप सुदृढ गरी विभिन्न रूपमा विभाजित कम्युनिष्ट शक्तिबीच एकताबद्ध गरिने भन्दै अध्यक्ष नेपालले त्यसको आधार बहुदलीय प्रतिस्पर्धात्मक समाजवाद हुने स्पष्ट पारे।

बागमती प्रदेश सभा सदस्य वसन्त मानन्धरले संवैधानिक निकायमा भागवण्डाले विकृति ल्याएको भन्दै त्यसको विकल्प खोज्नुपर्ने विचार व्यक्त गरे। उनले मुलुकको प्रत्येक क्षेत्रमा बिचौलिया हाबी भएकाले विकास निर्माणका कार्यले गति लिन नसकेको र त्यसको असरले युवा श्रमशक्ति पलायन भएकोमा चिन्ता व्यक्त गरे।

पार्टी केन्द्रीय अनुशासन आयोग सदस्य विष्णु अर्याल र पार्टीको काठमाडौँ जिल्ला अध्यक्ष लेखराज पौडेलले नेपाली राजनीतिमा पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले नीति र सिद्धान्त कार्यान्वयनमा प्रतिबद्धताको खाँचो औँल्याए।

salt training

कमेन्ट गर्नुहोस्