
अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले शनिबार जारी एकदिवसीय क्रिकेटमा साउथ अस्ट्रेलियाबाट जितका लागि दुई सय ४३ रनको लक्ष्य पाएको छ ।
नेपाली टोलीले अस्ट्रेलिया भ्रमणका क्रममा खेलेको यो अन्तिम अभ्यास खेल हो । यो खेल एकदिवसीय ढाँचामा खेलिँदै छ । साउथ अस्ट्रेलियाले ४५ ओभरमा अलआउट हुनुअघि दुई सय ४२ रन बनाएको हो ।
यसअघि, खेलिएको साउथ अस्ट्रेलियाविरुद्धको दुवै टी–२० खेलमा नेपाली टोली पराजित भएको थियो । नेपाली टोली साउथ अस्ट्रेलियासँग पहिलो टी–२० मा तीन विकेटले र दोस्रो टी–२० मा तीन रनले हारेको थियो ।
नेपाली टोलीले यसअघि अस्ट्रेलियामै टप इन्ड सिरिजमा सहभागिता जनाएको थियो । नेपाली टोलीले यी दुबै शृंखला आगामी टी–२० विश्वकपको छनोट प्रतियोगिताको तयारीका क्रममा खेलेको हो ।
एसिया तथा प्रशान्त क्षेत्रको अन्तिम चरणको विश्वकप छनोट प्रतियोगिता आगामी अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा आयोजना हुँदैछ । विश्वकप छनोट प्रतियोगितामा नेपालसहित नौ टोली सहभागी हुनेछन् ।
नेपालसँगै जापान र कुवेत प्रतियोगिताको समूह ‘बी’ मा परेका छन् । मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) समूह ‘ए’ मा छन् । समूह ‘सी’ मा भने आयोजक ओमान, पपुवा न्यू गिनी र समाओ रहेका छन् ।
अन्तिम चरणको उक्त छनोट प्रतियोगिताबाट तीनवटा टोली आगामी आईसीसी टी–२० विश्वकपमा पुग्नेछन् । आगामी टी–२० विश्वकप सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुँदैछ ।