
नेपालका धेरैजसो स्थानीय तह स्रोत अभाव, राजनीतिक खिचातानी र सुशासनको कमजोर अभ्यासजस्ता चुनौतीसँग जुधिरहेका छन् । यिनै कारण केहीले तोकिएको समयमा बजेटसमेत ल्याउन सकेनन् । सुनसरीको धरान उपमहानगरपालिकाले अहिलेसम्म बजेट ल्याउन सकेको छैन । काठमाडौं महानगरपालिका नै ढिलोगरी बजेट ल्याएको थियो ।
तर, चुनौतीबीच पनि केही पालिकाले भने उदाहरणीय काम गरिरहेका छन् । यिनै मध्येको एक हो इलामको सूर्योदय नगरपालिका । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा कोशी प्रदेशकै प्रथम र देशकै छैटौं उत्कृष्ट पालिका घोषित सूर्योदयले केही उदाहरणीय काम गरेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्याङ्कनमा समेत सूर्योदय देशकै दोस्रो उत्कृष्ट पालिका घोषित भएको थियो ।
यो सफलता कुनै संयोग नभई स्पष्ट भिजन र निरन्तरको प्रयासको परिणाम भएको नगरप्रमुख रणबहादुर राई बताउँछन् । ‘हामीले लिजाका सूचकलाई केवल औपचारिकताका लागि होइन, विकास र सुशासनको महत्वपूर्ण औजारको रूपमा कार्यान्वयन गर्यौं,’ मेयर राईले भने । उनका अनुसार नगरपालिकाले बेरुजु घटाएर ०.०२५ प्रतिशतमा झारेको छ ।
सूर्योदय नगरपालिकाको आर्थिक मेरुदण्ड पर्यटन र कृषि हो । भारतसँग सीमा जोडिएको पालिकाले आफ्नो पर्यटकीय सम्भावनालाई पहिचान गरेर त्यसलाई आम्दानीको बलियो स्रोतमा रूपान्तरण गर्न ठोस योजनाहरू अघि बढाएको छ ।
भारतीय पर्यटकलाई नै लक्षित गरेर यो पालिकाले पर्यटनमा फड्को मारिरहेको छ । ‘हामीले प्रचारप्रसारलाई बढी जोड दियौं । सुन्दर ठाउँहरू भएर मात्र हुँदैन, त्यसलाई विश्वमाझ पुर्याउनु पर्छ,’ राईले भने ।
नगरपालिकाले भारतीय ट्राभल एजेन्सीहरू र होमस्टे सञ्चालकहरूसँग समन्वय गरी सीमापारिबाट पर्यटक आकर्षित गर्ने रणनीति लिएपछि पर्यटनमा राम्रो सफलता मिलेको हो । ‘कन्याम र अन्तुडाँडाजस्ता पर्यटकीय स्थलहरूको सौन्दर्यीकरण र पूर्वाधार विकासमा लगानी गरियो । यसको प्रत्यक्ष प्रभाव राजस्व संकलनमा देखियो । कुनै बेला वार्षिक ५१ हजार रुपैयाँमा ठेक्का लाग्ने कन्यामको फोहोरमैला व्यवस्थापन नगरपालिकाले आफैं गर्दा एकैदिनमा ५७ हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भयो । अन्तुडाँडाबाट वार्षिक १ लाख उठ्ने राजस्व ५७ लाख पुग्यो,’ मेयर राईले भने । नगरपालिकाले देशकै पहिलो ‘सस्पेन्सन ब्रिज विथ ग्लास डेक’ निर्माणको योजना बनाएको छ, जसले भारतीय पर्यटकलाई लक्षित गर्दै पर्यटनमा नयाँ आयाम थप्ने अपेक्षा छ ।
आर्थिक वर्ष ८०/८१ मा २४ हजारभन्दा बढी भारतीय गाडी पशुपति नगर हुँदै सूर्योदयमा आएको उनले बताए । नगरपालिकाको पर्यटकीय विकासले राष्ट्रिय राजस्वमा समेत प्रत्यक्ष फाइदा पुर्याएको मेयर राईको दाबी छ । ‘स्थानीय तहको निर्वाचन हुनुभन्दा अगाडि (२०७४ सालभन्दा पहिला), पशुपतिनगर भन्सार कार्यालयले आफ्नो राजस्व संकलनको लक्ष्य कहिल्यै पूरा गर्न सकेको थिएन,’ उनले भने, ‘तर, सूर्योदयलाई पर्यटकीय नगरीको रूपमा विकास गरेपछि पर्यटकको आगमन ह्वात्तै बढ्यो । जसका कारण अहिले भन्सार कार्यालयले आफ्ना सबै लक्ष्यहरू सजिलै पूरा गरिरहेको छ ।’
पर्यटकको आगमन बढेसँगै नगरपालिकामा होटेल र होमस्टेहरू प्रशस्त खुलेको र यसले स्थानीय युवाहरूलाई व्यवस्थापन, कुकिङ, गाइड र अन्य सेवामूलक काममा रोजगारी दिएको राईले बताए । कन्यामजस्ता पर्यटकीय स्थलमा पर्यटनकै कारण रोजगारी सिर्जना भएको उनको भनाइ छ ।
कुनै समय थियो, जब सूर्योदयका ६० प्रतिशत विद्यार्थी निजी वा सीमापारि भारतका विद्यालयमा पढ्न जान्थे । आज यो आँकडा उल्टिएर ६० प्रतिशतभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालयमा छन् । यो परिवर्तनको पछाडि नगरपालिकाको शिक्षा क्षेत्रमा गरिएको क्रान्तिकारी लगानीको हात छ ।
‘हामीले गुणस्तरीय शिक्षामा कुनै सम्झौता गरेनौं’, मेयर राई आत्मविश्वासका साथ भन्छन्, ‘हरेक विद्यालयमा साइन्स ल्याब, कम्प्युटर ल्याब र इन्टरनेटको पहुँच सुनिश्चित गरिएको छ ।’
नेपाली समाजमा विवाहपछि धेरैजसो छोरी–बुहारीको घरको चौघेरा र भान्सामा सीमित हुने गरेका छन् । योग्यता र क्षमता हुँदाहुँदै पनि उनीहरूका कैयौं सपनाहरू जिम्मेवारीको बोझले थिचिने गरेका छन् । तर, सूर्योदय नगरपालिकाले भने यो सामाजिक मान्यता तोड्दै एउटा क्रान्तिकारी अभियान चलाएको छ । नगरपालिकाले सञ्चालन गरेको ‘छोरी–बुहारी शिक्षा कार्यक्रम’ले सयौं छोरी–बुहारीको जीवनमा आशाको दियो बालेको छ ।
मेयर राई भन्छन्, ‘हाम्रो समाजमा छोरी–बुहारीलाई पढाउनुपर्छ भन्ने सोचलाई स्थापित गर्नु थियो । कसैको पढाइ पैसा वा परिस्थितिले रोकिनु हुँदैन भनेर हामीले यो अभियान शुरू गर्यौं ।’
नगरपालिका कोही निवेदन लिएर आउँलान् भनेर पर्खिबस्दैन, बरू आफ्ना वडामा विवाह वा अन्य कारणले पढाइ छुटेका महिलाहरूको सक्रिय रूपमा खोजी गर्ने गरेको छ । १२ कक्षा पास गरेर आएका तर, अघि पढ्न नसकेका बुहारीहरूलाई खोजेरै नगरपालिकाले पढाउने गरेको छ ।
हाल नगरपालिकाको पूर्ण छात्रवृत्तिमा २५० जना छोरी–बुहारीहरूले आफ्नो अधुरो पढाइलाई निरन्तरता दिइरहेका छन । नगरपालिकाको छात्रवृत्तिमा १२ कक्षा पास गर्ने हरेक छोरी–बुहारीलाई १०० दिनको अनिवार्य रोजगारीको ग्यारेन्टी गरिएको छ ।
हालसम्म ५० भन्दा बढीले यो कार्यक्रममार्फत् माथिल्ला कक्ष पढेका छन् । स्नातक तह पार गरेर स्नातकोत्तर (मास्टर डिग्री) तहमा समेत अध्ययन शुरू भैसकेको नगरपालिकाले जनाएको छ ।
१२ महिना, १२ कार्यक्रम’जस्ता क्रियाकलापले विद्यार्थी र शिक्षकलाई निरन्तर उत्प्रेरित गरिरहेको छ । विद्यार्थीको गणितीय क्षमता बढाउन ‘गणित जानौं, बढी ज्ञान बसौं’ अभियानअन्तर्गत ८ देखि १० कक्षासम्मका विद्यार्थीलाई अनिवार्य रूपमा महिनाको तीनवटा अभ्यास पुस्तिका सिध्याउने नियम लागू गरिएको छ ।
सूर्योदय नगरपालिकाले सुशासनलाई व्यवहारमा उतार्न प्रविधिको भरपूर उपयोग गरेको छ । सरकारी सवारीसाधनको दुरुपयोग रोक्न सबै गाडीमा जीपीएस जडान गरिएको छ । जसले कर्मचारीको हरेक यात्रालाई पारदर्शी बनाउँछ । ‘को, कहाँ, कति समय बस्यो भन्ने कुरा हामीले सिधै हेर्न सक्छौं,’ राई भन्छन् । मेयर राईकै कोठाबाट ती सरकारी गाडीको निगरानी गर्ने गरिएको छ ।
‘सबै कर्मचारी त नभनौं । अफिसबाहिर साइटमा जाने भनेर विभिन्न ठाउँमा गएर फुटबल हेर्ने तथा घुमिरहेको पाइएपछि जीपीएस अनिवार्य गरेका हौं,’ उनले भने
उनका अनुसार, नगरपालिकाको केन्द्रीय प्रणालीबाट कर्मचारी ‘कहाँ–कहाँ घुम्यो, कता–कता गयो, कति बसेको छ, कति समय बस्यो, कति समय त्यहाँ बितायो ?’ भन्ने सबै कुराको प्रत्यक्ष निगरानी गरिन्छ ।
यति मात्र होइन, गाडी मर्मतसम्भार गर्नुपर्ने समय आएमा सम्बन्धित कर्मचारीलाई सफ्टवेयरमार्फत् स्वत: म्यासेज जान्छ । समयमा मर्मत नगरे त्यसबाट हुने क्षति कर्मचारी आफैंले बेहोर्नुपर्ने गरी नगरपालिकाले नियम बनाएको छ ।
सूर्योदय नगरपालिकाले गरेका काम पुरस्कार र तथ्याङ्कमा मात्रै सीमित छैनन् । सुशासन, आर्थिक पारदर्शिता, शिक्षामा लगानी र प्रविधिको सही उपयोगमार्फत् कसरी एउटा स्थानीय तह आत्मनिर्भर र नागरिकप्रति जवाफदेही बन्न सक्छ भन्ने जीवन्त उदाहरण पनि बनेको छ । ‘सूर्योदय मोडल’ नेपालका अन्य पालिकाहरूका लागि प्रेरणाको स्रोतसमेत बन्न सक्छ ।