
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)ले राज्यका सुरक्षा सङ्गठनबीच सहकार्य एवं समन्वय गर्दै महानगर प्रहरीले काम गर्नुपर्ने बताएका छन् ।
तेत्तीसौं महानगर प्रहरी दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले कानून, नीति नियम पालना तथा कार्यान्वयन गराउन सक्रिय भएर लाग्न नगर प्रहरीलाई अनुरोध गरे ।
प्रमुख शाहले भने, 'महानगरमा अतिक्रमण हटाउने, सार्वजनिक सम्पत्ति संरक्षण गर्ने तथा सुशासन एवं सुव्यवस्था कायम गर्न महानगर प्रहरीले निर्वाह गरेको भूमिकाको म सराहना गर्दछु ।'
उपप्रमुख सुनिता डङ्गोलले व्यक्ति विशेष नभई जनता र संस्थाको हितमा काम गर्न महानगर प्रहरी बललाई निर्देशन दिइन् । उनले भनिन्, 'नागरिकको सुख दुःख, जात्रा, पर्वमा सधैं जनतासँगै हुने महानगर प्रहरीले संस्थाको असल प्रतिनिधिका रूपमा काम गर्नुपर्छ ।'
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले नेपाल प्रहरी र महानगर प्रहरी बलको सहकार्यमा अनधिकृत संरचना, अवरोध र सडक पेटीको अतिक्रमण हटाउने काम नतिजामुखी ढङ्गबाट भइरहेको बताए ।
काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले महानगरपालिका भित्रका अनधिकृत संरचना हटाउने, विपद् र सवारी व्यवस्थापन गर्दै आएको बताए ।
महानगर प्रहरी बलले सार्वजनिक स्थलमा धूमपान नियन्त्रण, सडकमा छाडिएका चौपाया, अव्यवस्थित घर/टहरा हटाउने तथा विपद् र ढल निकास व्यवस्थापन, बजार अनुगमन गर्दै आएको छ ।
महानगर प्रहरीले स्थापना दिवसका अवसरमा स्वयम्भूनाथ र वसन्तपुर दरबार क्षेत्रको सरसफाइका साथै महानगरपालिका भित्रका विभिन्न स्थानमा वृक्षारोपणसमेत गरेको थियो ।
विक्रम संवत् २०५० भदौ १४ गते स्थापना भएको महानगर प्रहरी बलमा हाल ३६२ जना कार्यरत छन् ।
प्रहरी बलले गत वर्ष नियम उल्लङ्घन गरेका २० हजार ७३४ सवारीसाधन धनी र तोकिएका स्थानबाहेक अन्यत्र फोहर फाल्ने ३९७ जनालाई कारबाही गरेको जनाएको छ । उक्त कारबाहीबाट महानगरलाई रु तीन करोड ५६ लाख प्राप्त भएको छ ।
त्यस अवसरमा यस वर्षको ‘महानगर प्रहरी गौरव’ पुरस्कार नगरप्रहरी वरिष्ठ निरीक्षक लक्ष्मी महर्जनलाई प्रदान गरिएको थियो भने ‘उत्कृष्ट महानगर प्रहरी पुरस्कार’ हवल्दार बालकृष्ण कार्कीलाई र ‘महानगर प्रहरी पुरस्कार’ हवल्दारद्वय विजय तामाङ र मणिराम खनाल हवल्दार तथा प्रहरी जवान फिलिपी सारू मगरलाई प्रदान गरिएको थियो ।