
इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) क्लब रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले जितको खुसीयाली मनाउने क्रममा भएको भागदौडमा परी जीवन गुमाउने प्रत्येक व्यक्तिको परिवारलाई २५–२५ लाख भारतीय रूपैयाँ आर्थिक सहायता प्रदान गर्ने भएको छ ।
रोयल च्यालेन्जर्स बेंगलुरुले सन् २०२५ मा आयोजित आईपीएलको उपाधि जितेको थियो । रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक आईपीएलको उपाधि जितेको हो । जितको खुसीयाली मनाउने क्रममा ठूलो संख्यामा समर्थक चिन्नास्वामी स्टेडियममा उपस्थित भएका थिए ।
सोही क्रममा भएको भागदौडमा ११ जनाको मृत्यु भएको थियो । राज्य सरकार र स्थानीय प्रशासनले भने रोयल च्यालेन्जर्स बेंगलुरुकै कमजोरीका कारण उक्त घटना भएको आरोप लगाउँदै आएको छ ।

उक्त घटनाको बारेमा छानबिन गर्न गठित समितिले पनि कमजोर व्यवस्थापनका कारण भागदौडको स्थिति सृजना भएको निष्कर्ष निकालेको छ । यस विषयमा रोयल च्यालेन्जर्स बेंगलुरु भने लामो समयदेखि मौन रहँदै आएको थियो ।
उक्त घटनामा ५० जनाभन्दा बढी समर्थक गम्भीर रूपमा घाइते भएका थिए । ‘दु:खको यो घडीमा हामी पीडित परिवारसँग उभिन चाहन्छौं । हाम्रो यो सहयोगले पीडित परिवारलाई थोरै भए पनि सहयोग पुग्ने आशा लिएका छौं,’ क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।