
नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रीय समिति बैठक आज काठमाडौंको जमलस्थित येलो प्यागोडामा बस्दैछ। बैठक पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको आह्वानमा बोलाइएको हो।
अध्यक्ष श्रेष्ठद्वारा हस्ताक्षरित पत्रअनुसार बैठकको एजेण्डामा पार्टीको विधान संशोधन र केन्द्रीय सदस्य मनोनयन रहेका छन्। बैठकमा पार्टीका संस्थापक केन्द्रीय सदस्य र संघ–प्रदेशका सांसदहरूलाई निमन्त्रणा गरिएको भए पनि स्रोतका अनुसार अध्यक्ष श्रेष्ठ पक्षका सदस्यहरूमात्र सहभागी हुने भएका छन्।
पार्टी संरक्षक रेशम चौधरी बैठकमा उपस्थित नहुने पक्का भएको स्रोतले दाबी गरेको छ। “बैठकमा पार्टी जन्मदाता बिनै अध्यक्ष श्रेष्ठले बैठक बस्न लागेकी हुन्,” स्रोतले भन्यो। चौधरी पक्षका कुनै सदस्य पनि बैठकमा सहभागी नहुने बताइएको छ।
संस्थापक सदस्यहरूमध्ये बहुमत सदस्य रेशम चौधरीको पक्षमा रहेको दाबी छ। यसअघि पनि चौधरी पक्षको बैठकले अध्यक्ष रञ्जिता श्रेष्ठलाई कारबाही गरेको थियो।