
गृहमन्त्री रमेश लेखकले पर्साको वीरगञ्जस्थित विभिन्न अस्पतालमा हैजा संक्रमणका उपचाररत बिरामीको स्वास्थ्य अवस्था र उपचारमा भइरहेको प्रयासबारे जानकारी लिएका छन् ।
शनिबार साँझ वीरगञ्ज पुगेका गृहमन्त्री लेखकले नारायणी अस्पताल, तराई अस्पताल र वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्यबारे जानकारी लिएका हुन् ।
गृहमन्त्री लेखकले वीरगञ्जमा फैलिएको हैजा महामारी नियन्त्रणका लागि नेपाली सेनासहित तीनै सुरक्षा निकायका जनशक्ति खटाइने बताए ।

महामारी नियन्त्रणका लागि सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री लेखकले केन्द्रीय सुरक्षा समितिको निर्णयअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट मेडिकल फिल्डका जनशक्ति पठाउने निर्णय भएको बताए ।
अस्पताल प्रशासनबाट माग भए सुरक्षा निकायबाट तत्काल जनशक्ति र औषधि उपलब्ध गराइने उनको भनाइ थियो ।
‘नागरिकको जीवन जोगाउन कुनै कमी हुन दिन्नौं । तपाईंलाई थप जनशक्ति वा औषधि आवश्यक भए नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको चिकित्सक टोलीका साथै औषधि र उपकरण तत्काल उपलब्ध हुन्छ’, गृहमन्त्री लेखकले भने, ‘यसका लागि केन्द्रीय सुरक्षा समितिको बैठकले निर्णय गरिसकेको छ । प्रधानमन्त्रीज्यूले पनि प्रतिनिधिसभा बैठकमा समेत सुरक्षा निकायका चिकित्सक परिचालन गर्ने बताउनुभएको छ ।’

हैजा पूर्णरूपमा नियन्त्रणमा ल्याउन सरकारले विशेषज्ञहरूसँग सल्लाह गरेर मूल कारण पहिचान गर्नुपर्नेमा उनले जोड दिए । गृहमन्त्री लेखकले हैजा महामारी क्षेत्रको वस्तु-अवस्था बुझ्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका २ जना डाक्टरलाई जिम्मेवारी दिएका छन् ।