१० साउन २०८३, आइतबार

महासंघका अध्यक्ष ढकाल र कतार चेम्बरका अध्यक्ष अलथानीबीच कतारमा भेटवार्ता

नेपाल–कतार संयुक्त व्यापार परिषद्को बैठक काठमाडौंमा आयोजना हुने
भदौ १५, २०८२
काठमाडौं
महासंघका अध्यक्ष ढकाल र कतार चेम्बरका अध्यक्ष अलथानीबीच कतारमा भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीबीच कतारमा भेटवार्ता भएको छ ।

उनीहरूबीचको भेटवार्तामा नेपाल र कतारबीच आर्थिक तथा व्यावसायिक सम्बन्ध सुदृढीकरण तथा आपसी सहकार्यका विषयमा छलफल भएको थियो ।

सो अवसरमा नेपाल–कतार संयुक्त व्यापार परिषद् (जेबीसी)को आगामी बैठक काठमाडौंमा आयोजना गर्ने सहमति भएको महासंघका अध्यक्ष ढकालले जानकारी दिए। 

उनले नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) दुवै देशबीच व्यापार तथा लगानी प्रवर्द्धनको महत्त्वपूर्ण संयन्त्र बनेको उल्लेख गर्दै यसलाई अझ सशक्त बनाउन सदस्य सूचीलाई शीघ्र अन्तिमरूप दिनुपर्नेमा जोड दिए ।

नेपाल–कतार संयुक्त व्यापार परिषद् (जेबीसी) स्थापनामा कतारको सहयोगको प्रशंसा गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रशस्त अवसरहरू रहेकोले कतारका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे । 'नेपालमा धेरै क्षेत्रमा लगानीको अवसर छ । म कतारी लगानीकर्ताहरूलाई जलविद्युत, सौर्य ऊर्जा, सूचना प्रविधि, फिनटेक तथा कृषि–आधारित उद्योगमा लगानीको लागि आग्रह गर्दछु,' उनले भने ।

ढकालले महासंघले अघि बढाइरहेको डिजिटल रूपान्तरणलाई जोड दिँदै यस क्षेत्रमा कतार चेम्बरसँगको सहकार्य महत्त्वपूर्ण हुने बताए ।

उनले एआई–आधारित व्यावसायिक सुविधा उपकरण, ब्लकचेन–आधारित व्यापार कागजीकरण प्रणाली, तथा व्यवसाय मिलान र लगानी प्रवर्द्धनका लागि डिजिटल प्लेटफर्महरूमा ज्ञान आदानप्रदान गर्ने प्रस्ताव गरे । 'उन्नत डिजिटल प्रविधि अपनाउने कतारको अनुभवबाट पाएको तपाईंहरूको समर्थनले महासंघलाई आधुनिक, प्रविधि–मैत्री संस्था बनाउन अमूल्य सहयोग पुर्‍याउनेछ,' उनले भने ।

भेटका अवसरमा कतार चेम्बरका अध्यक्ष शेख खालिफा विन जासिम विन मोहम्मद अल थानीले नेपाल–कतार संयुक्त व्यवसाय परिषद् (जेबीसी) संयन्त्रलाई अन्तिमरूप दिई थप प्रभावकारी बनाइने बताए । यस्तै उहाँले नेपालसँग आर्थिक तथा व्यावसायिक सम्बन्ध सुदृढ गर्न आफ्नो तर्फबाट पहल गर्ने र यस प्रकार भेटघाट तथा छलफललाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भएको अध्यक्ष ढकालले जानकारी दिए ।

यसैबीच महासंघका अध्यक्ष ढकालले कतार चेम्बर र कतारी व्यावसायिक समुदायलाई सन् २०२६ को फेब्रुअरीमा काठमाडौंमा आयोजना हुने नेपाल अन्तर्राष्ट्रिय आर्थिक शिखर सम्मेलन (एनआईईएस)मा सहभागी हुन पनि आमन्त्रण गरेका छन् । दुई देशबीचको आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले सम्मेलनमा विशेष 'कतार केन्द्रित लगानी सत्र' आयोजना गर्ने तयारी भएको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्