२६ असार २०८३, शुक्रबार

पूर्वपञ्चहरूको अस्तित्व संकटमा, नफुटेको भए राप्रपाले थ्रेसहोल्ड कटाउँथ्यो ?

मंसिर २८, २०७४
पूर्वपञ्चहरूको अस्तित्व संकटमा, नफुटेको भए राप्रपाले थ्रेसहोल्ड कटाउँथ्यो ?

काठमाडौं २८ मंसिर– बहुदल स्थापना भएदेखि नै सरकार गठन बिघठनमा निर्णायक पात्र बन्दै आएका पूर्वपञ्चहरुको पार्टी राप्रपाका घटकहरु यसपटकको चुनावमा नराम्रोसँग पराजित भएका छन् । वामपन्थी गठबन्धनको समर्थनमा झापा ३ बाट विजयी भएका राजेन्द्र लिङदेन बाहेक तीनवटै राप्रपाका उम्मेदवारहरु संसदमा पुग्ने सम्भावना अब लगभग समाप्त भएको छ । 

२०७० सालको संविधानसभा चुनावमा तत्कालिन राप्रपा नेपालले समानुपातिक प्रणालीबाट २४ सिट जितेर संसदको चौथो ठूलो शक्ति बनेको थियो । यस्तै पशुपति शमशेर राणा नेतृत्वको राप्रपाले तीन प्रत्यक्ष सहित १२ सिट जितेको थियो । सत्तासमीकरण फेरबदलमा राप्रपा नेताहरुको भूमिकालाई लिएर कतिपय नेतालाई ‘मुसा प्रबृत्ति’को रुपमा समेत चित्रण गर्ने गरिएको थियो । 

हिन्दु धर्मको रक्षाको नारा दिएर २४ सिट जितेको राप्रपा नेपाल (पछि राप्रपा)ले तीनवटा सरकारमा उपप्रधानमन्त्री सहित आकर्षक मन्त्रालय पाएको थियो । यसपटकको चुनावमा भने पूर्वपञ्चहरुको पार्टीले नराम्रो पराजय व्यहोरेका छन् । धर्मका नाममा भोट मागेर सत्ताको बार्गेनिङ गरेको आरोप राप्रपा माथि लाग्दै आएको छ । 

राप्रपा अध्यक्ष कमल थापा मकवानपुर १ बाट पराजित भए भने राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणा सिन्धुपाल्चोकमा एमालेका शेरबहादुर तामाङसँग पराजित भए । राप्रपाका महामन्त्रीद्वय विक्रम पाण्डे चितवन ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित भए भने दीपक बोहोरा रुपन्देही ३ मा नेकपा एमालेका घनश्याम भुसालसंग पराजित भए । 

समानुपातिक तर्फबाट सांसद बन्ने आशमा रहेका एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको दल समानुपातिक तर्फ ६० जिल्लाको मतगणना सकिदा निकै पछाडि छ । कमल थापाको राप्रपा गाई, राणा नेतृत्वको राप्रपा गोलाकार भित्रको हलो र लोहनी नेतृत्वको राप्रपा आयातअकार भित्रको हलो चिन्ह लिएर चुनावमा होमिएका थिए ।

२०७० सालको संविधनसभा चुनावमा ६ लाख ३० लाख भोट पाएको कमल थापा नेतृत्वको राप्रपाले बिहीवार मध्यान्ह सम्मको मतगणनामा समानुपातिक तर्फ १ लाख ७७ हजार भोट पाएको छ । राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले ६४ हजार र राप्रपा राष्ट्रवादीले २३ हजार भोट पाएको छ । १७ जिल्लाको मतगणना जारी रहदा तीनवटै पार्टीको जोड्दा २ लाख ६५ हजार हुन आउछ ।

बैकल्पिक राजनीतिक धार स्थापना गर्ने भन्दै गतबर्षको मंसिरमा पार्टी एकीकरण गरेका राप्रपा घटकहरुको एकता धेरै दिन टिकेन । पार्टी एकीकरण गर्दा राप्रपासंग ३७ सांसद थिए । राप्रपाका नेताहरु अहिलेको खराव नतिजा आउनुमा पार्टी विभाजन नै प्रमुख कारण भएको बताउछन् ।

‘तीनवटै घटक खराव स्थितीमा चुनाव लड्दा पनि समानुपातिक तर्फ तीन प्रतिसत भन्दा धेरै भोट आउने देखियो, मिलेर गएको भए नतिजा भिन्दै हुने थियो’ राप्रपाका सहायक प्रवक्ता मोहन श्रेष्ठले लोकान्तरसंग भने, ‘यो खराव स्थितीको दोष पशुपति शमशेर राणालाई जान्छ, जसले राष्ट्रवादी धार बोकेको राप्रपा विभाजन गराए ।’

चुनावमा खराव नतिजा आएपनि राप्रपाले लिएको ‘राष्ट्रवादी धार’को औचित्य बाँकी रहेकोले भविष्यमा राप्रपाका घटकहरु एकजुट हुने नेता श्रेष्ठको विश्वास छ । ‘खराव परिस्थितीको समीक्षागर्दै पार्टी एकीकरण लगायतका नयाँ रणनीति बनाउँछौ’ श्रेष्ठ भन्छन । 
 

salt training

कमेन्ट गर्नुहोस्