१० साउन २०८३, आइतबार

नेपालीरिका होटलमा ३० करोडभन्दा बढीको क्षति, नेताहरू लुकेको आशंकामा लगाइएको थियो आगो

असोज ५, २०८२
विराटनगर
नेपालीरिका होटलमा ३० करोडभन्दा बढीको क्षति, नेताहरू लुकेको आशंकामा लगाइएको थियो आगो

मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा रहेको नेपालीरिका होटलमा जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी भयो । गत भदौ २४ गते भएको तोडफोड, आगजनी र लुटपाटबाट ३० करोड रुपैयाँभन्दा बढीको क्षति भएको होटलका सञ्चालक भोला दुलालले जानकारी दिए ।

जेनजी आन्दोलनको दोस्रो दिन केही व्यक्तिले होटलमा कांग्रेस–एमालेका नेताहरू लुकेको हल्ला फैलाए । सोही हल्लाको भरमा प्रदर्शनकारीहरू होटलमा प्रवेश गरे ।

सञ्चालक दुलालका अनुसार भिडले होटलमा रहेका पाहुनालाई समेत दुर्व्यवहार गर्दै लुटपाट मच्चायो र आगजनी शुरू गर्‍यो ।  ‘नेता लुकेको हल्ला केवल बहाना थियो,’ दुलालले भने, ‘वास्तविक मनसाय लुटपाट गर्ने र क्षति पुर्‍याउने देखियो ।’

लुटपाट गर्न आउने स्थानीय नै रहेको उनले बताए ।

अहिले होटलको फेसबूक पेजमा लुटपाट गर्नेहरूको तस्वीर सार्वजनिक गर्न थालिएको छ ।

आगजनीबाट होटलका ६० भन्दा बढी कोठा, भिल्ला, सेमिनार हल र फ्रन्ट डेस्क पूर्णरूपमा जलेर नष्ट भएका छन् ।  कुल १५२ करोडको लगानीमा निर्माण भएको १४६ कोठे होटलको अधिकांश संरचना ध्वस्त छन् ।

यता होटल जलिरहेका बेला सञ्चालक भोलाका छोरा आकास अमेरिकामा थिए । उनी व्यावसायिक कामकै लागि अमेरिका गएको बताइएको छ ।​ 

होटल जलेपछि आकासले सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेका छन् । ‘मेरो बुवाको ३२ वर्षको अथक मेहनत, परिश्रम र रगतको थोपाले सिञ्चित थियो नेपालीरिका ।  मैले हरेक पल्ट बुवालाई विदेशमै लगानी गर्नुपर्छ भन्थें, तर बुवाले ‘जे गर्ने हो, यही देशमा गर्ने हो’ भन्नुभयो ।  यहाँको इँटा, माटो, ढुंगा मात्र जलेन । एउटा उद्योगीको विश्वास, व्यवसायीको निष्ठा, समाजको विकास र प्रत्येक कर्मचारीको भरोसा पनि जलिरह्यो,’ उनले लेखेका छन् ।​​​

व्यवसायी दुलाल शून्यबाट शिखरमा पुगेका एक सफल उद्यमी हुन् ।  शिशु अवस्थामै बुवा गुमाएका उनले आमाको संरक्षणमा एसएलसी पास गरे । आर्थिक अवस्था कमजोर भएपछि २०४६ सालमा मासिक २०० रुपैयाँ तलबमा एक मेसिनरी पसलमा काम थालेका थिए ।

तीन वर्षको अनुभवपछि २०४९ सालमा ७० हजारको लगानीमा विराटचोकमा आफ्नै मेसिनरी पसल खोले ।  त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेको थिएन ।  आज उनी पूर्वाञ्चल ल्युब आयल (पीएलओ) का प्रबन्ध निर्देशक हुनुका साथै करिब दुई दर्जन उद्योग, व्यवसायमा आबद्ध छन् ।

विदेशमा देखेका राम्रा कुराहरू आफ्नो ठाउँमा लागू गर्ने सोच राख्ने दुलालले सुन्दरहरैँचामा पुस्तकालयसहितको सार्वजनिक शौचालयसमेत बनाउने अभियान चलाएका थिए ।

ठूलो क्षति र पीडाका बीच पनि उद्यमी दुलालले हिम्मत हारेका छैनन् । उनले दशैं अगाडि नै ८० देखि ९० वटा कोठा मर्मत गरेर होटलको ‘सफ्ट ओपनिङ’ गर्ने योजना बनाएका छन् । पूर्ण सञ्चालनमा आउन ४ देखि ७ महिना लाग्ने उनको अनुमान रहेको छ ।

उनले कुनै पनि कर्मचारीलाई नहटाउने घोषणा गरेका छन् । ‘हामीले कुनै पनि कर्मचारीलाई निकाल्दैनौं । उहाँहरूको रोजगारी सुरक्षित छ र यस वर्षको दशैं बोनससमेत उपलब्ध गराइनेछ,’ दुलालले प्रतिबद्धता जनाए ।

उनको यो संघर्षशील यात्रा र स्वदेशमै केही गर्ने अठोटमाथि भएको प्रहारले समग्र लगानीकर्ताको मनोबलमा चोट पुगेको छ । होटल व्यवस्थापनले लुटपाटमा संलग्न व्यक्तिहरूलाई भिडियो र फोटोमार्फत पहिचान गरी कानूनी कारबाही अगाडि बढाउने र लुटिएका सामान फिर्ता गर्न आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्