
काठमाडौं, २९ मंसिर– आगामी आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले बजेट निमार्णको गृहकार्य थालेको छ । कार्ययोजना तयार पार्दै २०७५÷७६ का लागि योजना आयोगले पनि बजेट निमार्णको प्रक्रिया थालनी गत महिनादेखि नै गरिसेको छ ।
निर्वाचनका कारण केही ढिला गरी अर्थ मन्त्रालयले पनि बजेट निमार्णको काम सुरु गरेको हो ।
‘बिहीबारबाट औपचारीक रुपमा हामीले गृहकार्य थालेका हौं’, बजेट महाशाखा प्रमुख केवल भण्डारीले भने, ‘मन्त्रालय, संघ, प्रदेश, स्थानीय तहका लागि कार्य विभाजन गरी काम सुरु भएको हो’ । यो कामसँगै संघीयताअनुसारको वित्तीय हस्तान्तरणको कामसमेत सुरु भएको छ ।
कुन तहलाई कुन–कुन शीर्षकमा बजेट दिने भन्ने विषय संविधानमा उल्लेख छ । त्यसका लागि तथ्यांक संकलन, आवश्यक स्रोतका क्षेत्रबारे तथ्यांक संकलनको काम सुरु गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
भूकम्पपछिको पुनर्निर्माण, तीन तहको सरकारलाई खर्च, कर्मचारी ‘गोल्डेन ह्यान्डसेक’, ३५ जिल्लामा बाढीपहिरोको पुनर्निर्माण क्षेत्रको स्रोत आवश्यक रहेकाले अर्को वर्षको बजेट निकै ठूलो आकारको हुनेछ, कान्तिपुरमा खबर छ ।