
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरका रामा राना र सुदामा राना दम्पती जन्मजात दृष्टिविहीन हुन् । दुवै जनाले जन्मैदेखि संसार देख्न पाएनन् । जीवनलाई बुझ्ने र महसुस गर्ने दृष्टि भने गुमाएका छैनन् ।
विक्रम संवत् २०५२ मा गाउँकै बासिन्दाकै पहलमा विवाह बन्धनमा बाँधिएका हुन् । दृष्टिविहीन भएकाले दुवैको सहारा उनका छिमेकी रहेका छन् ।
अहिले पनि रामा सुदामा दम्पती छिमेकीकै सहयोगमा सानो घरमा बसोबास गर्दै आएका छन् । त्यो घर पनि गाउँका बासिन्दाले बनाइदिएका हुन् । 'आमाबुबाले जग्गा राख्नुभएन, अहिले बस्नका लागि छ/सात धुर जग्गा मात्रै छ, त्यसमै असल छिमेकीले घर बनाई दिँदा बस्न पाएका छौं, रामाले भने ।
दुवै जनाले अपाङ्गका आधारमा नीलो कार्ड पाएका छन् र वडा कार्यालयबाट नियमित रूपमा भत्ता पाउँछन् । यही भत्ताको रकम नै दृष्टिविहीन दम्पतीको मुख्य आम्दानीको स्रोत हो । 'त्यही पैसाले नुन, तेल, चामल, दाल, साबुन र औषधोपचारका लागि खर्च गर्छौं,' सुदामा बताउँछिन् ।
छिमेकीहरूले दुवै जनाका लागि खाना पकाउनेदेखि घर सफा गर्नेलगायत दैनिक कार्यमा सहयोग गर्छन् । सुदामा अनुमान र अन्दाजका भरमा कपडा धुन्छिन् र स–साना घरायसी काम आफैं गर्न प्रयास गर्छिन् । 'सहारा कोही छैन, जो आउँछन् ती नै हेर्छन्,' रानाले भनिन् ।
उनीहरूका सन्तान भने छैनन् ।
रामाले झारफुकको काम पनि गर्छन् । उनले बाल्यकालदेखि नै यो सीप सिकेका हुन् । 'झारफुक गराउँदा ठीक भएका मानिसहरूले खुसी भएर केही पैसा दिनुहुन्छ, कहिलेकाहीँ घरमै बोलाएर पनि आउनुहुन्छ,' उनले भने ।
यही सानो आम्दानीले पनि घर खर्चमा केही राहत पुग्ने गरेको सुदामाले भनिन् । 'आँखा देखिँदैन तर मनको उज्यालो कहिल्यै निभ्दैन,' सुदामा मुस्कुराउँदै भनिन् ।
रामा र सुदामाको जीवन जिउने सकारात्मक सोचले जीवनलाई दृढ बनाएको स्थानीय नवराज पन्तले बताए । 'दृष्टिविहीन राना दम्पती अत्यन्तै सरल र सकारात्मक सोच भएका व्यक्ति हुन्,' उनले भने, 'कठिनाइका बीच पनि दुवै जना कहिल्यै गुनासो गर्दैनन्, बरु उनीहरूको आत्मबलले गाउँका अरूलाई पनि जीवनप्रतिको दृष्टिकोण सिकाएको छ ।'
गाउँका बासिन्दा राना दम्पतीलाई साँचो माया र सहानुभूतिको उदाहरणीय जोडी रूपमा वर्णन गर्छन् ।
जीवनमा दृष्टि नभए पनि उनीहरूले एक-अर्कामा उज्यालो पाएका छन् । अँध्यारो संसारमा पनि आत्मबल, माया र सहानुभूतिको उज्यालोले कसरी जीवनलाई अघि बढाउन सकिन्छ भन्ने प्रेरणादायी उदाहरण बनेका छन् रामा र सुदामा ।