
काठमाडौँ, २ पुस - प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक भावना र मर्मविपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश रोकेर राखेको भन्दै असन्तुष्टि जनाएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार बिहान बालुवाटारमा भएको ‘वान टु वान’ वार्तामा देउवाले जनादेशको भावनाअनुसार आफू सत्ता हस्तान्तरण गर्न आतुर रहे पनि राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण नभएकाले समस्या आएको बताए, कान्तिपुरमा खबर छ ।
‘असंवैधानिक काम गर्न राष्ट्रपतिलाई बाध्य पार्ने काम तपाईंहरूबाट नहोस्,’ दाहालसँग प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने, ‘ओलीजी र तपार्इंहरूले नै उक्साएर राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गर्नुभएको छैन । यसलाई जति चाँडै अघि बढाउन दिनुहुन्छ, सरकार हस्तान्तरणको प्रक्रिया पनि त्यति नै चाँडो हुन्छ ।’