
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी फागुन २१ गते प्रतिनिधिसभा चुनाव हुने भन्दै सहभागिता सुनिश्चित गर्न अपिल गरेका छन् ।
सोमबार एक भिडियो सन्देश जारी गर्दै थापाले चुनाव निर्धारित मितिमै हुने भएकोले बाँकी रहेको ६ दिनमा मतदाता नामावलीमा नाम लेखाउन अपिल गरेका हुन् ।
‘फागुन २१ गते चुनाव हुन्छ । नो इफ, नो बट, चुनावमा हामी सबै भाग लिने हो । चुनावमा भोटरको रूपमा भाग लिन भोटर रजिष्ट्रेसन गराउनुभएको छैन भने जम्मा ६ दिन बाँकी छ । ६ दिनमा रजिष्ट्रेसन गराउनुहोला,’ थापाले भनेका छन्, ‘रजिष्ट्रेसनका लागि इलेक्सन कमिसनको वेबसाइटमा गएर बुझ्नसक्नु हुन्छ । गरिसकेका साथीलाई पनि सोध्न सक्नुहुन्छ । ६ दिनभित्रमा भोटर आईडी कार्ड बनाउनुहोला ।’
पार्टी संस्थापनका केही नेताले प्रतिनिधिसभा पुनःस्थापनाका लागि हस्ताक्षर गरिरहँदा थापाले निर्धारित समयमै चुनाव हुने बताएका हुन् ।
आज बिहान पनि सामाजिक सञ्जालमा लेख्दै उनले संविधानलाई सही बाटोमा ल्याउन चुनाव अपरिहार्य भएको बताएका थिए ।
‘फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउनेछ । संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन । नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेका छौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय हो,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल यो विषयका सन्दर्भमा होइन । यस सन्दर्भमा हामी स्पष्ट छौं । निर्वाचनअघि अधिवेशन गर्नु पर्छ, किनकि अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो ।’
नयाँ नेतृत्व चयनले मात्रै निर्वाचनको लागि योग्य बनिने भन्दै उनले चुनावबारे द्विविधा नभएको बताएका छन् ।
‘अहिलेको छलफल र अलमल यही विषयमा मात्र हो, फागुन २१ गतेको निर्वाचनका बारेमा होइन,’ उनले लेखेका छन्, ‘नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिन्छ मात्र होइन, यसलाई सफल पनि बनाउँछ, यसमा कसैले पनि द्विविधा नराखौं ।’
यस्तो छ थापाको स्टाटस :