३० असार २०८३, मंगलबार

दिल्ली प्रहरीले भन्यो- ‘विस्तारै गुडिरहेको कार एकाएक विस्फोट भयो

कात्तिक २४, २०८२
काठमाडौं
दिल्ली प्रहरीले भन्यो- ‘विस्तारै गुडिरहेको कार एकाएक विस्फोट भयो

 लाल किल्ला नजिक सोमबार साँझ भएको कार विस्फोटबारे दिल्ली प्रहरीका आयुक्त सतीश गोल्चाले प्रारम्भिक जानकारी सार्वजनिक गरेका छन्। उनका अनुसार विस्फोट साँझ करिब ६:५२ बजे लाल बत्ती (ट्राफिक सिग्नल)तर्फ गइरहेको एक ढिलो गतिमा गुडिरहेको कारमा भएको हो।

आयुक्त गोल्चाले भने, “आज साँझ करिब ६:५२ बजे एक सवारी साधन, जसमा यात्रुहरू पनि थिए, बिस्तारै गुडिरहेको बेला विस्फोट भयो। त्यससँगै अन्य केही सवारी साधनहरू पनि प्रभावित भए।”

उनका अनुसार विस्फोटपछि दिल्ली प्रहरी, फरेन्सिक साइन्स ल्याब, राष्ट्रिय अनुसन्धान एजेन्सी र राष्ट्रिय सुरक्षा गार्डका टोलीहरू घटनास्थल पुगेका छन् र अवस्था बुझ्ने काम जारी छ।

“घटनाको अनुसन्धान जारी छ। केही मानिसहरूको मृत्यु भएको र केही घाइते भएका पुष्टि भएका छन्। थप विवरण सार्वजनिक गरिनेछ,” गोल्चाले भने।

उनले गृह मन्त्रालयलाई नियमित रूपमा घटनाबारे जानकारी दिइरहेको पनि बताए। “स्थिति नियन्त्रणमा छ र लगातार अनुगमन भइरहेको छ,” उनले जोड दिए।

यसअघि दिल्ली अग्निशमन सेवाले लाल किल्ला मेट्रो स्टेशन नजिक कारमा विस्फोट भएको पुष्टि गरेको थियो। घटनामा कम्तीमा छवटा गाडी जलेका थिए भने केही घाइतेहरूलाई उपचारका लागि एलएनजेपी अस्पताल लगिएको छ।

विस्फोटको कारण अझै पत्ता नलागेको र प्रारम्भिक अनुसन्धानले सबै सम्भावित कारणको परीक्षण गरिरहेको प्रहरी स्रोतले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्