काठमाडौं, ५ पुस — दी इन्डियन एक्सप्रेस पत्रिकामा शुभजीत रोयले बुधवार एक लेख प्रकाशित गरेर भारत सरकारलाई नेपालको विश्वास जित्नका लागि काम गर्ने सल्लाह दिएका छन् ।
लेखमा भनिएको छ :
नयाँ दिल्लीका पुराना मित्र अनि अहिलेका दुश्मन केपी ओलीको नेतृत्वमा वाम गठबन्धनले चुनाव जितेपछि अब भारतले रणनीति परिवर्तन गर्नुपर्ने देखिन्छ ।
ओलीले प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमण गर्दा दुई देशबीचको कटुता ‘असमझादारी’का कारण भएको बताएका थिए । तर त्यो असमझदारी सामान्य थिएन ।
त्यतिखेर भारतले नेपालमाथि क्रूर नाकाबन्दी लगाएको थियो । त्यसले नेपालीको मनोविज्ञानमा नराम्रो असर पा–यो । काठमाडौंले भारत नै नाकाबन्दीका लागि जिम्मेवार भएको बताइरहँदा नयाँ दिल्लीले स्थितिलाई सामान्य बनाउन कुनै प्रयत्न नै गरेन ।
पछि नयाँ दिल्लीले प्रचण्डलाई ओलीसँगको साझेदारी टुंग्याउन लगायो । यी सबै घटनाक्रमले ओलीको उदयलाई सहायता ग–यो । विगत दुई वर्षमा ओली तथा अन्यको नेतृत्वमा रहेको काठमाडौंको राजनीति वृत्तले नाकाबन्दीलाई भारतविरोधी भावना भड्काउन प्रयोग ग–यो अनि निर्वाचन अभियानमा चीन कार्ड पनि खेल्यो ।
वाम गठबन्धन शक्तिमा आएपछि बेइजिङतिर ढल्किने पक्का छ । ओली र प्रचण्ड दुवैले सार्वजनिक अभिव्यक्तिमा यसको संकेत दिइसकेका छन् ।
उता चिनियाँहरू तिब्बतबाट नेपालतर्फ आउने थुप्रै राजमार्ग बनाउँदैछन् । तिब्बती रेलमार्ग ल्हासाबाट शिगात्सेसम्म विस्तार गरिएको छ र त्यो काठमाडौंसम्म आउन सक्छ ।
भारतले नेपालमा आफ्ना परियोजनाहरू सुस्त गतिमा अघि बढाइरहँदा काठमाडौंको नयाँ सरकार चीनको एक पेटी एक सडक परियोजनाको अंग बन्न सक्छ । भारतले नेपालीहरूलाई श्रीलंका, माल्दिभ्स र पाकिस्तानको जस्तो चीनको ऋण धरापमा नेपाल नपरोस् भनी सचेत तुल्याउनुपर्छ ।
नयाँ दिल्लीले काठमाडौंमा राजनीतिक प्रियपात्र छान्दै हिँड्नुभन्दा पनि व्यापक राजनीतिक संवाद गर्नुपर्छ । सबभन्दा महत्त्वपूर्ण कुरा त उसले नेपालसँगको विश्वास बढाउनुपर्छ । पूर्व विदेशसचिव श्यामशरणले भनेजस्तै ‘वस्तु
आयातका लागि नेपाल भारतप्रति निर्भर छ यसलाई नै हतियार बनाउन सकिन्छ’ भन्ने मानसिकतालाई भारतले त्याग्नुपर्छ ।
नेपालीहरूमा भारतवेष्ठित भएको भावना छ । त्यसैले नेपाललाई भारतीय यातायात सञ्जालमा राष्ट्रिय व्यवहार गर्नुपर्छ । अर्थात् नेपालीहरूलाई भारतको सडक र बन्दरगाह भारतीय नागरिक र कम्पनीले जस्तै गरी प्रयोग गर्न दिने अनुमति दिनुपर्छ ।
नेपालीहरूलाई भारतवेष्ठित नभई भारत खुला छ भन्ने विश्वास दिलाउनुपर्छ ।