
काठमाडौं, ५ पुस — अमेरिकाको डिस्ट्रिक्ट अफ कोलम्बिया अदालतमा राष्ट्रपति डोनल्ड ट्रम्पका तर्फबाट न्यायाधीश पदका लागि सिफारिश गरिएका म्याथ्यु पिटरसनले नाम फिर्ता लिएका छन् । पिटरसनले एउटा भिडियो भाइरल भएपछि यस्तो फैसला लिएका हुन् ।
भिडियोमा पिटरसनलाई रिपब्लिकन सिनेटर जोन केनेडीले कानूनसम्बन्धी सजिला प्रश्न गरेका देखिन्छन् । उनी कतिवटा जुरी ट्रायलमा बसेको भनी सोधिएको थियो । अनि नागरिक कानूनसम्बन्धी फेडरल बूक कहिले पढेको भनी उनलाई प्रश्न गरिएको थियो ।
पिटरसनले दुवै प्रश्नको उत्तर दिन संघर्ष गर्नुप–यो ।
भिडियो भाइरल भएपछि भने, ‘म राजनीतिक सत्यतासँग अपरिचित छैन । म राष्ट्रपति र उनको प्रशासनिक कार्यमा बाधा दिन चाहँदिनँ । मैले दुई दशकसम्म जुन काम गरेको छु, त्यसको महत्त्व यो दुई मिनेटको भिडियोभन्दा बढी छ ।’
उल्लेखनीय छ, पिटरसन अहिले फेडरल इलेक्सन कमिसनमा आयुक्त छन् ।
केनेडीले चाहिँ पिटरसन बुझ्झकी भएपनि उनलाई कानूनको बारेमा कम जानकारी भएकाले ह्वाइट हाउसले उनको नाम फिर्ता लिनुपर्ने बताए ।
ह्वाइट हाउसले चाहिँ यस प्रकरणको जिम्मा विपक्षीले लिनुपर्ने बयान दियो जबकि पिटरसनलाई अयोग्य ठह–याउने काम ट्रम्पको आफ्नै पार्टी रिपब्लिकनका सिनेटर केनेडीले गरेका हुन् ।
एजेन्सी