
काठमाडौं, ६ पुस- नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले कालिकोटको नाग्मामा ६२ औं र दैलेखको डाबमा ६३ औं शाखा विस्तार गरेको छ । दुबै स्थानमा एक्स्टेन्सन काउन्टर रहेकोमा स्थानीय आवश्यकता अनुसार आर्थिक कारोबार बढी हुन थालेकाले शाखाको रुपमा रुपान्तरन गरिएको बैंकले जनाएको छ । दुई शाखासहित सुर्खेत र जुम्ला गरी अब प्रदेश नम्बर ६ मा नेपाल इन्भेष्टमेण्ट बैंक लि.को चार वटा शाखा पुगेको छ ।
इन्भेष्टमेण्ट बैंक लि.को शाखा रहेको तिलागुफा नगरपालिकाको नाग्मा बजार जुम्ला, कालिकोट र मुगु आवत जावत गर्ने सडक संजाल भएको मुख्य क्षेत्र रहेकाले सर्बसाधारणलाई ठूलो राहत मिल्ने बैंकको विश्वास छ । दैलेखको आठविश नगरपालिमामा रहेको डाबमा पनि अहिलेसम्म कुनै पनि वाणिज्य बैंकको शाखा नभएकाले नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले शाखा खोली आर्थिक कारोबार सुरु गरेको छ । बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तार गरेको जनाएको छ ।
आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको हाल ६३ वटा शाखा (नारायणघाट र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) तथा ९७ वटा एटिएम पुगेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ५४ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ । निजि क्षेत्रमा सर्वाधिक चुक्ता पूँजी रु १०.६३ अर्ब रहेको यस बैंकको हाल निक्षेप रु. १३१ अर्ब तथा कूल कर्जा लगानी रु. १०७ अर्ब पुगेको छ ।