
काठमाडौं, ६ पुस- नेपाली कथानक चलचित्र लालपुर्जा प्रदर्शनको तयारी भएको छ । विहिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सिनेमाले ट्रेलर एवं गीत लन्च गर्दै प्रदर्शनको तयार भएको जनाएको हो । निगम श्रेष्ठ निर्देशित फिल्म माघ ४ गते प्रदर्शन हुँदैछ । पत्रकार सम्मेलनमा दुई अलग शैलीमा बनाइएको एउटै ट्रेलर लन्च गरियो । संवाद र संवादरहित ट्रेलरमा कलाकारको पल्टन छ ।
सौगात मल्ल, बिपिन कार्की, मिरुना मगर, मेनुका प्रधान, कामेश्वर चौरासिया, हरिहर शर्मा, कुमार नगरकोटी लगायत फिचर छन् । निर्देशक श्रेष्ठले जग्गालाई लिएर हुने दाजुभाइको झगडा तथा भौतिकवाद र अध्यात्मवादको लडाइ फिल्मले चित्रण गर्ने बताए । अतिथि लेखक समेत रहेका उपन्यासकार नगरकोटी यसमा केमियो भूमिकामा छन् । उक्त अवसरमा निर्माण कम्पनी नेगेटिभ बुद्धले निर्माण गर्न लागेको नयाँ फिल्म ‘ज्ञ’लाई नगरकोटीले निर्देशन गर्ने जानकारी दिइयो ।
‘कथा, निर्देशन र संवाद मैले उक्त फिल्ममा गर्दैछु’ नगरकोटीले भने, ‘लालपुर्जा मेरा लागि मात्र फिल्म नभएर उत्सव समेत हो ।’ निर्माता विक्रमसिंह थारुले माघ ४ गते कलाकारिताको महाकुम्भ भएको बताए । अभिनेता हरिहर शर्माले अहिलेसम्म आफूले गरेको भूमिकाभन्दा लालपुर्जा चरित्र चित्रणमा भिन्न रहेको बताए ।