
वीरगञ्ज, ७ पुस– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा चार दिनको नवजात शिशु छोडेर एक महिला बुधबार मध्यराति हराएकी छन् । सर्लाहीको कविलासी–२ स्थित पिपरियाका सकनिनन्दन मण्डलकी पत्नी २० वर्षीया ललितादेवीलाई आइतबार बिहान प्रसूतिका लागि अस्पताल भर्ना गरिएको थियो ।
त्यही दिन दिउँसो १ बजे शल्यक्रियापछि उनले छोरी जन्माएकी थिइन् । त्यसपछि चिकित्सकले सुत्केरी र शिशुलाई अति सघन उपचार कक्ष (आईसीयू)मा राखेका थिए । बुधबार राति साढे ८ बजेतिर ललितादेवीकी आमा र सासूले शिशुलाई आमाको दूध चुसाएपछि आफूसँगै राखेका थिए ।
राति ११ बजेतिर बच्चा रुन थालेपछि सुत्केरी आमा भएको कक्षभित्र जाँदा शय्यामा ललितादेवी नभेटिएपछि खैलाबैला मच्चिएको थियो, अन्नपूर्ण पोस्टमा खबर छ ।