
मोरङको लेटाङ नगरपालिका २ की १३ वर्षीया अंशु गौतमको बलात्कार र हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनकै छिमेकीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार पत्रकार सम्मेलन गरी हत्या र बलात्कारका आरोपी स्थानीय ५९ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरिएको जानकारी दिएको हो ।
अधिकारीमाथि ज्यानसम्बन्धी कसुर र करणीसम्बन्धी कसुरमा जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद लिएर अनुसन्धान अगाडि बढेको मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालले जानकारी दिए ।
प्रहरीका अनुसार अभियुक्तले मृतक अंशुलाई २१ गते दिउँसो खेलिरहेको अवस्थामा भेटेका थिए । उनीसँगै खेलिरहेकी साथीलाई पैसा दिएर अंशुलाई घाँस काट्न सहयोग गर भन्दै जंगलको मुखसम्म बोलाएको खुलेको छ ।
त्यहाँसम्म साइकलमा पुगेकी अंशुलाई ती व्यक्तिले साइकलको पछाडि राखेर साढे ४ किलोमिटर भित्रसम्म पुर्याई बलात्कार गरेको अनुसन्धानबाट खुलेको एसपी कटुवालले बताए ।
बलात्कारकै मोटिभले घटना घटाएको र बलात्कार पछि घाँटी थिचेर हत्या गरी पछि हँसियाले घाटी काटेको खुलेको प्रहरीले जानकारी दिएको छ ।
स्थानीय लक्ष्मी माविमा कक्षा ५ मा अध्ययनरत १३ वर्षीया गौतम असोज २१ गते घरबाट हराएकी थिइन् । उनको परिवारले २२ गते नै प्रहरीमा जाहेरी दिएको थियो ।
अंशुको शव कात्तिक ७ गते जंगलमा सडेको अवस्थामा फेला परेको थियो । घाँस काट्न गएका व्यक्तिहरूले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि इलाका प्रहरी कार्यालय लेटाङ र प्रहरी चौकी बुधबारेबाट खटिएको टोलीले घटनास्थल मुचुल्का गरी घटनाको अनुसन्धान थालेको थियो ।
पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी पनि मिसिएर घटनाको अनुसन्धान गरेको थियो ।