२४ असार २०८३, बुधबार

प्रहरीको 'अपरेसन जग' : जब हजुरबाको उमेरका पदमबहादुरतिर सोझियो अनुसन्धानको सुई

मंसिर २१, २०८२
विराटनगर
प्रहरीको 'अपरेसन जग' : जब हजुरबाको उमेरका पदमबहादुरतिर सोझियो अनुसन्धानको सुई

मोरङको लेटाङमा १२ वर्षीया बालिका अंशु गौतमको हत्या छिमेकीले क्रूरतापूर्वक गरेको खुलेको छ । ५९ वर्षीय छिमेकी पदमबहादुर अधिकारीले 'नातिनी' पर्ने अबोध बालिकालाई घाँस काट्न सघाउने बहानामा जंगलको साढे ४ किलोमिटरभित्र पुर्‍याएर बलात्कार मात्र गरेनन्, पोल खुल्ने डरले पहिले घाँटी थिचेर हत्या गरे । त्यसपछि हँसियाले रेटेर टाउको शरीरबाट अलग गरिदिएको खुलेको मोरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीले 'अपरेसन जग' नाम दिएर गरेको लामो र गहिरो अनुसन्धानपछि आइतबार हत्या अभियुक्त सार्वजनिक गरेको छ । साथै, कहालिलाग्दो घटना विवरण बाहिर ल्याएको छ ।

घटना गत असोज २१ गतेको हो । दिउँसो अंशु आफ्नी साथी युरिकासँग स्कूलनजिकै खेलिरहेकी थिइन् । त्यही बेला छिमेकी 'हजुरबुबा' पर्ने पदम अधिकारी त्यहाँ आइपुगे । उनले पहिले अंशुकी साथी युरिकालाई ५ रुपैयाँ दिएर 'दिदी खोज्न जाऊ' भन्दै चलाखीपूर्ण ढंगले त्यहाँबाट पठाए ।

साथी गएपछि एक्लै भएकी अंशुलाई पदमले 'नातिनी घाँस काट्न सघाऊ न' भन्दै फकाए । परिवारका अन्य सदस्यसँग बोलचाल नभए पनि पदमले अंशुलाई 'नातिनी' भनेर बोलाउने गर्थे । हजुरबुबा उमेरको मान्छेले भनेपछि अंशुले नाइँनास्ती गर्न सकिनन् । पदमले उनलाई जंगलको मुखसम्म अर्कै बाटो आउन भने र आफू साइकलमा गए ।

मोरङ प्रहरी प्रमुख एसपी कविता कटुवालका अनुसार, पदमले बालिकालाई गाउँबाट साढे ४ किलोमिटर टाढा एकान्त जंगलमा पुर्‍याए । त्यहाँ पुगेपछि उनले अंशुमाथि जबरजस्ती करणी गरे ।

'बालिकाले घटनाबारे गाउँमा भनिदिने डर (पोल खुल्ने डर) पदममा देखियो,' एसपी कटुवालले भने, 'त्यही डरले उनले शुरूमा बालिकाको घाँटी जोडले थिचे। घाँटी थिचेर हत्या गरिसकेपछि पनि उनको मन शान्त भएन, साथमा रहेको हँसियाले रेटेर बालिकाको टाउको शरीरबाट अलग गरिदिए ।'

घटना घटाएर घर फर्किएका पदमको व्यवहार त्यो दिन अस्वाभाविक थियो । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार, पदम सधैँ पानी देख्दा डराउँथे र नुहाउन मान्दैनथे । परिवारले कर गरेपछि मात्र नुहाउने बानी भएका उनले हत्या गरेको दिन भने राति नै नुहाएका थिए ।

यस्तै, उनी सो दिन साँझ साढे ८ बजेतिर मात्रै घाँस लिएर आएका थिए। राति घाँस बोकेर आएको दृश्य लक्ष्मी माध्यमिक विद्यालयको सीसीटीभी फुटेजमा कैद भएको थियो ।

यही फुटेज र अस्वाभाविक व्यवहारका कारण प्रहरीको शंका उनीमाथि केन्द्रित भएको थियो । शव भेटिएको खबर सुनेपछि हेर्न भन्दै निस्किएका उनी घटनास्थलनजिकै पुगेर पनि त्यहाँ नपुगी फर्किएका थिए । गाउँलेहरूसँग भने उनले घटनास्थल टाढा रहेछ जान सकिनँ भनेका थिए । शव भेटिएपछि उनी घरभित्रै गुम्सिएर बस्न थालेका थिए ।

अंशुको हत्या भएको १८ दिनपछि अर्थात् कात्तिक ७ गते जंगलमा टाउको र शरीर छुट्टिएको अवस्थामा शव फेला परेको थियो । प्रहरी अनुसन्धानको सुई आफूतिर सोझिएको सुइँको पाएपछि उनी कात्तिक १९ गते फरार भएका थिए ।

'छोरालाई अब घरव्यवहार तिमीले सम्हाल्नु, म काम गर्न भारत जान्छु, ऋण पनि छ, कमाएर पैसा पठाउँछु,' भन्दै उनी भारतको मेघालय पुगेका थिए ।

आरोपी नै अचानक गायब भएपछि प्रहरीको शंका पुष्टि भएको थियो । मोरङ प्रहरी, कोशी प्रदेश प्रहरी र सीआईबीको संयुक्त टोली अनुसन्धान गरेको थियो । उनलाई सीआईबीको टोलीले भारतसम्म नै पुगेर मंसिर १९ गते नेपाल ल्याएको थियो ।

प्रहरीले ३ सयभन्दा बढी व्यक्तिसँग सोधपुछ र ५४ जनाको लिखित कागज गराएको थियो । अधिकारीलाई पनि प्रहरीले बयान लिएर छाडेको थियो । बयान लिएर छाडेपछि उनी फरार भएका थिए ।

प्रहरीले पक्राउ परेका अधिकारीमाथि मुलुकी अपराधसंहिता २०७४ बमोजिम कर्तव्य ज्यान र जबरजस्ती करणीसम्बन्धी कसुरमा कडा कारबाही अगाडि बढाएको छ।

लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्ने हँसिली अंशुको जीवन लिन छिमेकी नै 'काल' बनेर आएको यो घटनाले सिंगो लेटाङ शोकमग्न बनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्