०६ साउन २०८३, बुधबार

बाबुरामको साथ छोड्दै कोशीका नेता, भन्छन्- अब पार लाग्दैन !

पुस ९, २०८२
विराटनगर
बाबुरामको साथ छोड्दै कोशीका नेता, भन्छन्- अब पार लाग्दैन !

नेपाली राजनीतिमा ‘वैकल्पिक शक्ति’को नारा दिएर १२ वर्षअघि नयाँ शक्ति पार्टी स्थापना गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजनीतिक यात्रा यतिबेला गम्भीर मोडमा आइपुगेको छ । 

नयाँ शक्ति, जनता समाजवादी हुँदै हालै ‘प्रगतिशिल लोकतान्त्रिक पार्टी’ (प्रलोपा)सम्म आइपुग्दा भट्टराईलाई शुरूआती साथ दिनदेखि काँध थापेका कोशी प्रदेशका नेताहरू नै अलग हुन थालेका छन् ।

‘बाबुरामबाट अब पार लाग्दैन’ भन्दै नेताहरूले साथ छाड्ने लहर चलेको छ । भट्टराईले पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छोडेर आएका सुदन किरातीलाई संयोजक बनाएर नयाँ पार्टी बनाए पनि वर्षौंदेखि उनलाई साथ दिँदै आएका नेता भने अब भट्टराईसँगको यात्रामा पूर्णविराम लगाउने निर्णयमा पुगेका छन् ।

नयाँ शक्ति पार्टीको स्थापनाकालदेखि नै भट्टराईलाई आर्थिक र सांगठनिक रूपमा बलियो साथ दिएका नेता भरत दाहालले आफ्नो १२ वर्षको सहकार्य र लगानी बालुवामा पानी खन्याए सरह भएको टिप्पणी गरे । 

प्रलोपा बन्नुअघि भट्टराई नेतृत्वको पार्टीका केन्द्रीय सचिव रहेका दाहालले आफूले वैकल्पिक राजनीतिको आशमा झण्डै १ करोड रूपैयाँ खर्च गरेको तर उपलब्धि भने शून्य रहेको बताए । उनले भट्टराईको कार्यशैलीबाट वाक्क–दिक्क भएको सुनाउँदै अब उपलब्धि हुने ठाउँमा लाग्नुपर्ने अवस्था आएको उल्लेख गरे । 

दाहालले अहिले धेरैजसो ‘साथीहरूको’ दबाब रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा जानुपर्ने रहेको समेत खुलाएका छन् ।

त्यस्तै, अर्का केन्द्रीय सदस्य तेजलाल कर्णले पनि पार्टी परित्यागको घोषणा गर्दै बाबुरामले वैकल्पिक राजनीतिका नाममा कार्यकर्तालाई सधैं भ्रममा राखेको आरोप लगाएका छन् । 

भट्टराईले अन्त्यमा फेरि पुरानै माओवादी विचारधाराका नेतासँग मिलेर पार्टी बनाएको भन्दै उनले यसलाई ‘माओवादीहरूको नयाँ खोल’को संज्ञा दिएका छन् । 

कर्णका अनुसार कार्यकर्ताले भट्टराईलाई नेतृत्व छोडेर पूर्वप्रधानमन्त्रीको हैसियतमा सबै वैकल्पिक शक्तिलाई एकजुट बनाउन सुझाव दिएका थिए । तर उनले केही व्यक्तिको स्वार्थमा केन्द्रित भएर नयाँ पार्टीको नाटक मञ्चन गरेको आरोप लगाए । माओवादी पृष्ठभूमि भन्दा बाहिर निस्कन नसक्नु नै भट्टराईको मुख्य कमजोरी रहेको कर्णको ठम्याइ छ ।

बाबुरामसँगको सम्बन्ध विच्छेदपछि कर्णले आफू रास्वपामा प्रवेश गर्ने निर्णयमा पुगिसकेको स्पष्ट पारेका छन् । उनले रवि लामिछानेले छोटो समयमै वैकल्पिक शक्तिको उचाई हासिल गरेको भन्दै अबको वास्तविक विकल्प रास्वपा नै भएको दाबी गरे । 

कर्णले तत्कालीन नयाँ शक्ति पार्टीमा रहेका कोशी प्रदेश र पूर्वी नेपालका झण्डै ८० प्रतिशत कार्यकर्ता रास्वपामा प्रवेश गर्ने दाबी समेत गरेका छन् । 

भट्टराईलाई बौद्धिक नेताका रूपमा सम्मान गरे पनि उनमा राजनीतिक कला, चतुर्‍याइँ र सांगठनिक क्षमता शून्य रहेको नेताहरूको निष्कर्ष छ । उनीहरूले बाबुरामले पनि आफ्नी छोरी मानुषीलाई अगाडि बढाउन खोजेको आरोप लगाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्