१९ असार २०८३, शुक्रबार

भेडागोठमै बित्यो जीवन, पढ्न नपाएकोमा नरेन्द्रलाई अहिले पछुतो

पुस १४, २०८२
म्याग्दी
भेडागोठमै बित्यो जीवन, पढ्न नपाएकोमा नरेन्द्रलाई अहिले पछुतो

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले भेडाको बथानसँगै लेकबेँसी गर्दै आएको पाँच दशक पूरा गरेका छन्। सात वर्षको उमेरदेखि भेडाको घुम्ती गोठ समातेका उनको दैनिकी आज पनि उस्तै छ।

बर्खायाममा गुर्जा र चुरेन हिमालको फेदीमा पुग्ने नरेन्द्र हिउँद लागेपछि गाउँ नजिकैको खर्कमा झर्छन्। बिहानदेखि राति अबेरसम्म भेडाबाख्राको स्याहारमै व्यस्त रहने उनको जीवनले स्कुलको ढोका कहिल्यै टेक्न पाएनन्। घर नजिकै रहेको जनकल्याण माध्यमिक विद्यालयमा पढ्ने अवसर नपाएको पीडा अहिले जीवनको उत्तरार्धमा आएर गहिरो पछुतो बनेको छ।

घरको मुख्य आम्दानी भेडापालन भएकाले बाल्यकाल, युवावस्था र बुढ्यौली सबै बुकीमै बित्यो। जीवनका जोस, जाँगर र रमाइला क्षणहरू हिउँसँगै पग्लिएर गएको नरेन्द्र बताउँछन्। गोठको जीवनले घामपानी, असिना, हिउँ र वन्यजन्तुको आक्रमणसँग जुधेका अनुभव मात्रै बाँकी राखिदिएको छ।

बिरामी हुँदा पनि बुकी नछोडेको उनी सम्झन्छन्। लेकाली चरन क्षेत्रलाई बुकी र गोठ राख्ने स्थानलाई खर्क भनिन्छ। पुख्यौली पेसालाई निरन्तरता दिँदै आएका नरेन्द्रको गोठमा अहिले २५ वटा मात्रै भेडा र पाठापाठी छन्। तन्नेरी हुँदा तीन सयसम्म भेडा पालेका उनी गोठालाको अभावका कारण संख्या घटाउँदै लग्न बाध्य भएका हुन्।

अनपढ भएकाले भेडाको गणना, मूल्य र हिसाबकिताब गर्न गाह्रो पर्ने गरेको उनी बताउँछन्। “जीवन नै बुकीमा बित्यो, अब घरखर्च चलाउन मात्रै भेडा पालिएको छ,” भन्छन् उनी।

फर्किन मिल्ने भए बाल्यकालमै फर्किएर स्कुल जान चाहेको नरेन्द्रको अनुभव भेडाको जस्तै जीवन बिताएको अनुभूतिमा झल्किन्छ। हिउँदभन्दा बर्खायाम झनै कष्टकर हुने उनी बताउँछन्। बर्खामा भीषण वर्षा, वन्यजन्तुको आक्रमण र पाठापाठी जोगाउनु ठूलो चुनौती हुने गरेको छ। त्यसका लागि उनी भोटे कुकुर सँगै राख्छन्।

चितुवाको आक्रमणबाट ज्यान जोगाएको अनुभव सुनाउँदै गोठको जीवन सजिलो नरहेको उनी बताउँछन्।

नरेन्द्रजस्तै गुर्जाका ६८ वर्षीय गोरे छन्त्यालले पनि पाँच दशकभन्दा बढी समय भेडाको बथानसँगै बिताएका छन्। नौ वर्षको उमेरदेखि बुकी उक्लिएका गोरे आज पनि भेडाले घेरिएका हुन्छन्। शरीरले आराम खोजे पनि उनको दैनिकी अझै सक्रिय छ।

गोरेले वार्षिक करिब १० लाख रुपैयाँ बराबरको भेडा बिक्री हुने गरेको बताए। गुर्जामा करिब २० घरपरिवारले व्यावसायिक भेडापालन गर्दै आएका छन्। युवापुस्ता वैदेशिक रोजगारीमा जान थालेपछि भेडागोठ बुढापाकाको जिम्मामा परेको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए।

भेडा बेच्न बजार जानुपर्ने अवस्था छैन। गाउँमै पूजाआजा र मासुका लागि गोठमै पुग्ने चलन छ। परम्परागत भेडापालनलाई व्यवस्थित र व्यावसायिक बनाउन गाउँपालिका तथा पशुसेवा निकायले अनुदान, तालिम र परामर्श कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

गाउँपालिकाले रोगविरुद्ध खोप, औषधि उपचार, गोठालाका लागि त्रिपाल, मोबाइल चार्जका लागि सोलार र गोठ सुधार कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए। गोठालाको नियमित स्वास्थ्य परीक्षणलाई पनि कार्यक्रममा समेटिएको छ।

धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कबाङ क्षेत्रमा आज पनि परम्परागत घुम्ती गोठमार्फत पशुपालन गर्ने चलन कायम छ।

salt training

कमेन्ट गर्नुहोस्